लोकसेवाको आपत्तिपछि नेपाल प्रहरी र APF नेपाल नेतृत्व चयनको कोर्स करेक्सन

Advertisement 1

 

सुरक्षा सम्बादाता ३० मङ्सिर २०८१ काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक मन्त्रीपरिषद्‌मा पेश भयो ।

Advertisement 2

त्यसको तीन सातापछि गत शुक्रबार केही संशोधनसहित उक्त विधेयक पास भएको हो । अब संसदबाट पनि पास भएपछि उक्त विधेयकले ऐनको मान्यता पाउनेछ । यससँगै नेपाल प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनहरू विस्थापित हुनेछन् ।

Advertisement 3

तर मन्त्रिपरिषद्मा पेश भएको उक्त विधेयकमा दुवै संगठन (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का प्रमुख तथा आईजी नियुक्ति बारे गरिएको व्यवस्थाको विषयमा लोकसेवा आयोगले भने लिखित रूपमै असहमति राखेको थियो ।

 

प्रस्तावित विधेयकमा सशस्त्र प्रहरी बलको प्रमुख नियुक्तिका लागि दुई र प्रहरीको हकमा भने तीन जनाको नाम सिफारिस गर्ने उल्लेख गरिएको छ । तर यसरी नाम सिफारिस गर्ने समितिमा लोक सेवा आयोगलाई बाइपास गरिएको छ ।

गृहमन्त्रालयको कानुन शाखाका प्रमुख तथा सहसचिव भरतमणि रिजालका अनुसार आईजीको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव र प्रहरी महानिरीक्षक सदस्य रहेको समिति रहने प्रस्ताव उल्लेख गरिएको छ ।

यसअघिसम्म आईजीमा बढुवाका लागि सिफारिस समिति रहने व्यवस्था थिएन । एआईजीहरू मध्येबाट र एआईजी नभएको अवस्थामा डीआईहरू मध्येबाट सरकारले आईजी नियुक्त गरिन्थ्यो । आईजी नियुक्तिका लागि विभिन्न आधारहरू नियमावलीमा उल्लेख गरिएको थियो । तर अहिले भने लोकसेवा आयोगलाई समेत बाइपास गरेर बढुवा सिफारिस समिति रहने र २ जना र ३ जनालाई क्रमशः आईजीको रूपमा प्रस्ताव गर्ने प्रस्तावित ऐनमा उल्लेख गरिएको थियो ।

प्रस्तावित ऐनमा उल्लेखित यी बुँदाले प्रहरी संगठनमा व्यवसायिकता गौण बन्ने भन्दै सुरक्षाका जानकारहरूले त्यस्तो प्रावधान हटाउन सुझाव दिएका थिए । उनीहरूको तर्क थियो, ‘यस्तो व्यवस्थाले प्रहरी प्रमुख नियुक्तिमा दलीयकरण हाबी हुने, सक्षम र योग्य व्यक्ति नेतृत्वमा पुग्न नसक्ने, क्षमतावान भन्दा पनि सत्ता रिझाउनेहरू प्रहरी प्रमुख बन्ने सम्भावना बढी हुन्छ र संगठनमा व्यवसायिकता गौण बन्छ ।’

 

लोकसेवा आयोगले पनि यो बुँदामा लिखित रूपमै असहमति जनाएको थियो । सुरक्षा मामलाका जानकार तथा विज्ञहरूले समेत सिफारिस समितिलाई लोकसेवाले आपत्ति गरेको विषय उठान गरेपछि गत शुक्रबारको मन्त्रिपरिषद् बैठकको विधेयक समितिले आईजी सिफारिस समिति नराख्ने निर्णय गरेको छ । गृह स्रोतले भन्यो, ‘आईजी सिफारिस समिति हटाउने निर्णय भएको छ । अब विधेयक जतिसक्दो चाँडो संसदमा पठाउँछौं ।’

सिफारिस समिति राख्दा लोकसेवा आयोगलाई अनिवार्य रूपमा सहभागी गराउनुपर्ने तर्क लोकसेवा आयोगको थियो । मैनालीले लोकसेवाको निष्पक्षताबारे प्रहरीकै उदाहरण दिए ।

२०७३ चैतमा सरकारले जयबहादुर चन्दलाई आईजीमा बढुवा गरेको थियो । चन्दलाई आईजीपीमा बढुवा गरेपछि फुली नलगाउँदै भोलिपल्ट आईजीका अर्का प्रतिस्पर्धी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चमा पेश भएको कार्यसम्पादन मूल्यांकनमा सिलवाल एक नम्बरमा थिए । प्रहरीको कर्मचारी प्रशासन शाखा, गृह र लोकसेवा गरी तीन ठाउँमा हुने कासमू राखिएको हुन्छ ।

तर, लोकसेवामा रहेको सिलबन्द कार्य सम्पादन मूल्याङ्कन हेर्दा प्रकाश अर्याल पो पहिलो नम्बरमा देखिए । योसँगै सर्वोच्चको आदेश अनुसार अर्याललाई आईजी बनाइएको थियो ।

‘नवराज सिलवाल र जयबहादुर चन्दको आईजी प्रकरणमा म आफैं लोकसेवाको अध्यक्ष थिएँ । त्यतिबेला फरक कासमू भेटिएपछि लोकसेवामा रहेको सिलबन्द कासमू फाइल हेर्दा अर्याल पहिलो नम्बरमा रहेछन् र उनी नै आईजी भए’ मैनालीले ‘त्यसकारण लोकसेवालाई बाइपास गरेर समिति बनाउनु भनेको बढुवाका लागि मोलमोलाईको बाटो खुला राख्नु हो । अहिले यो करेक्स्न भएको हो भने राम्रो हो ।’

नयाँ ऐनको प्रस्तावमा आईजी नियुक्ति सिफारिस गर्दा २ र ३ जनालाई सिफारिस गर्ने भन्ने प्रस्तावले सुरक्षा संगठन समस्या निम्तने सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । ‘यसले समयमै बढुवा हुन नसक्ने, संगठनमा विधिसम्मत र स्वस्थ अभ्यास हुन नसक्ने, पूर्वानुमान योग्य, न्यायोचित र पारदर्शी हुन नसक्ने, वरियता, वरिष्ठता समेत मिचिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ,’ उनीहरू भन्छन् ।

पदावधिमा भने असन्तुष्टि

नयाँ ऐनको मस्यौदामा दुवै प्रहरी संगठनको ३० वर्षे सेवावधि हटाउनुका साथै उमेर र पदावधिका कारण मात्रै अवकाश हुने उल्लेख गरिएको छ । जसमा आईजीको चार वर्षे पदावधिलाई घटाएर ३ वर्षमा झारिएको छ । एआईजीको पनि समान ३ वर्ष पदावधिको प्रस्ताव गरिएको छ ।

प्रहरीका दुवै संगठनका विद्यमान ऐन/नियमावलीमा भने आईजीको चार वर्ष र एआईजीको पाँच वर्ष पदावधि थियो ।

अहिले प्रस्तावित ऐनमा आईजी र एआईजीको समान तीन वर्षे पदावधिको प्रस्ताव गरिएपछि संगठनभित्र असन्तुष्टि देखिएको छ । आईजी, एआईजी एकैपटक अवकाशमा जाँदा भ्याकुमको अवस्था सिर्जना हुने भन्दै यसअघि जस्तै आईजीको भन्दा एआईजीको पदावधि बढी हुनुपर्ने संगठनका सदस्यहरूको गुनासो छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय

सशस्त्र प्रहरीको एसएसपीभन्दा माथिल्लो दर्जाका अधिकृतहरूको बैठकले पनि आईजीको ३ वर्ष, एआईजीको ४ वर्ष र डीआईजीको ५ वर्ष पदावधि हुनुपर्ने भन्दै सुझाव दिएको थियो । तर, मन्त्रालयमा पुगेपछि उक्त सुझावलाई रातो लगाउँदै आईजी र एआईजीको समान तीन वर्षे पदावधि राखिएको थियो ।

शुक्रबारको मन्त्रीपरिषद् बैठकले भने यसबारे कुनै निर्णय नगरी दुवै प्रहरी संगठनमा आईजी र एआईजीको पदावधि समान ३ वर्ष रहने व्यवस्थालाई नै सदर गरेको छ ।

पहिलो नम्बरको ज्येष्ठता तेस्रो नम्बरमा झर्‍यो

विद्यमान प्रहरी नियमावली अनसार दुवै प्रहरी संगठनमा आईजीमा बढुवाका आधारमध्ये पहिलो नम्बरमा ज्येष्ठता राखिएको छ । त्यसमा ज्येष्ठता, कार्यदक्षता, कार्यकुशलता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमतालाई आधार मान्दै आईजीमा बढुवा गरिने उल्लेख छ ।

तर अहिलेको प्रस्तावित विधेयकमा भने पहिलो नम्बरमा रहेको ज्येष्ठतालाई तेस्रो नम्बरमा राखिएको छ । सुरुमा कार्यकुशलता, दोस्रोमा कार्यक्षमता राखेपछि बल्ल तेस्रो नम्बरमा ज्येष्ठता राखिएको छ ।

प्रहरीभित्र फौजी संरचनामा ठूलो महत्व राख्ने ज्येष्ठतालाई तेस्रो प्राथमिकतामा राख्नु उपयुक्त नहुने भन्दै गुनासो सुनिन थालेको छ ।

प्रहरी प्रधान कार्यालय

त्यसैगरी बहालमा रहेको आईजी अवकाशमा जानुभन्दा एक महिनाअघि नै सरकारले आईजी नियुक्त गर्नुपर्ने सुझाव सशस्त्र प्रहरीले दिएको थियो । यसो गर्दा नयाँ आउने आईजीले एक महिनाको अवधिमा सिक्ने मौका पाउने र नेतृत्व हस्तान्तरणमा पनि सौहार्द वातावरण बन्ने बताइएको थियो ।

एक महिना अघि नियुक्त गर्न नसकेको अवस्थामा कम्तीमा एक साताअघि भएपनि अनिवार्य नियुक्त गर्नुपर्ने सुझाव सशस्त्रको थियो । तर, प्रस्तावित विधेयकमा भने ‘सामान्यता बहालवाला प्रहरी महानिरीक्षक अवकाश हुनुअघि आईजीमा बढुवा गरिने’ उल्लेख गरिएको छ ।

संसद नचल्दा ढिलाइ

रमेश लेखकले गृहमन्त्रीको पदभार सम्हाल्दै १०० दिनभित्र दुवै प्रहरी संगठनको विधेयक संसदमा लैजाने घोषणा गरेका थिए । उनले आफ्नो प्रतिबद्धता अनुसार तोकिएको समयमा विधेयक ड्राफ्ट गरेर मन्त्रिपरिषदमा पेश गरेका थिए ।

१०० दिनभित्र विधेयक ड्राफ्ट गरिए पनि संसद बन्द रहेकाले प्रक्रिया अगाडि बढाउन नसकिएको उनको सचिवालयले बताउँदै आएको छ ।

मन्त्रीपरिषद्को विधेयक समितिबाट समेत उक्त विधेयक पास भइसकेको छ । अब संसद बैठक सुरु भएसँगै उक्त विधेयक अगाडि बढ्नेछ ।

 

यो विधेयक पास भएर कार्यान्वयनमा आएपछि प्रहरी ऐन २०१२ र सशस्त्र प्रहरी ऐन २०५८ विस्थापित हुनेछन् ।

विधेयकमा दुवै संगठनको ३० वर्षे सेवावधि हटाउने, १६ वर्षमै पेन्सन हुने लगायतका व्यवस्था राखिएको छ ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs