Advertisement 1
सुरक्षा सम्बादाता ०७ पुस २०८१ कोहलपुर; हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा ‘बहसमा का. जलजला र मोहनविक्रम सिंह’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा जलजला उपन्यासका साहित्यिक, राजनीतिक र दार्शनिक पक्षहरूका साथै आफ्नो राजनीतिक जीवन, नेपालको समसामयिक राजनीति, विश्व राजनीतिक सन्दर्भका बारेमा मोहनविक्रम सिंहबाट थुप्रै जानकारी प्राप्त भएको हो। सिंहले उपन्यासका पात्र र घटना प्युठान, नेपाल मात्रै होइन विश्व सन्दर्भलाईसमेत समेट्ने किसिमका रहेको बताए । का.जलजला दुःख-सुखान्तक उपन्यास भएको भन्दै आफूले प्रेमको अवमूल्यन नगरेको बरू सतीदेवी पार्वतीमा पुनर्जन्म भएझैँ जलजला सुनन्दाको रूपमा आएको बताए ।
Advertisement 2
उनले आफ्नो राजनीतिक जीवननका भोगाई र आफूले बुझेको विश्व समाजलाई का. जलजलामा प्रस्तुत गरेको जानकारी दिए।
कार्यक्रमका सहभागीहरूले खुला सत्रमा थुप्रै जिज्ञासा राखे । उक्त जिज्ञासाहरुको उत्तर दिंदै राजा महेन्द्रबाट आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भन्ने भनाइ सत्य नभई किंवदन्ती मात्रै भएको भन्दै आफूले तत्कालीन कम्युनिस्ट नेता पुष्पलाललाई ग़द्दार भन्नू गलत थियो भन्दै पहिलेनै प्रष्ट पारेको बताए । देशको विकासमा कम्युनिस्ट र काँग्रेस सबैको सहकार्य आवश्यक रहेको धारणा राखे।
Advertisement 3
उनले पूर्णिमामाले यति ठूलो कार्यक्रम आयोजन गरेर जलजलाको गहन परिचर्चा गर्नु अत्यन्त महत्वपूर्ण रहेको भन्दै खुसी व्यक्त गरे । टिप्पणीकार नरेन्द्रजङ्ग पिटरले पुस्तक सम्पादनमा केही त्रुटि रहेको भन्दै साहित्य, राजनीति र दर्शनको विश्वकै विशाल ग्रन्थहरू मध्ये जलजला एक बनेको बताए । बहसको सहजीकरण साहित्यकार सागर गैरेले गरेका थिए ।
वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको हलमा भएको कार्यक्रममा नेपालका पूर्व उपसभामुख पूर्णा सुवेदी, पूर्व माननीय आइ. पी खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राज्ञ सनत रेग्मी, प्रा.डा. जनार्दन आचार्य, प्रा.डा कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, क्याम्पस प्रमुख दानबहादुर हमाल, साहित्यकार प्राज्ञ हरिप्रसाद तिमिल्सिना, समाजसेवी वीरेन्द्र शाह, इन्द्र भण्डारी, इन्द्र वस्नेत, किरण आचार्य, मणि अर्याल, ईश्वरी रिजाल, खगेन्द्र गिरी कोपिला, शङ्कर अशान्त, चेतकान्त भट्टराई, कल्पना पौडेल, सुमित्रा न्यौपाने, बासुदेव पोखरेल, तेज बहादुर के सी. विष्णु केसी, नवीन अभिलाषी, सहितका विशिष्ट साहित्यकार, राजनीतिकर्मी, समाजसेवी, वागेश्वरी बहुमुखी क्याम्पसका सहकर्मी प्राध्यापक, स्ववियु अध्यक्ष र विद्यार्थी नेताहरू पत्रकार करिब ३०० व्यक्तित्वहरू उपस्थित भएका थिए ।
कार्यक्रमका अध्यक्ष पुष्कर रिजालले मोहन विक्रम सिंहको साहित्यिक, राजनीतिक र सामाजिक योगदान अतुलनीय रहेको बताउँदै सँस्थाका तर्फबाट दोसल्ला र अभिनन्दन पत्रबाट सम्मान गर्दै सबैलाई धन्यवाद दिए । सँस्थाका उपाध्यक्ष खोपीराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव केशव निमेषले गरेका थिए ।