
सुरक्षा सम्बादाता १० माघ २०८१ मोरङ; जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिवलाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
Advertisement 1
ठगी मुद्दामा जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
Advertisement 2
पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियो । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
Advertisement 3
गत २५ पुसमा पोखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको थियो ।