
सुरक्षा सम्बादाता ७ फागुन २०८१ काठमाडौं; अपराध अनुसन्धानमा सूत्र (सुराकी) परिचालन गर्ने गरी नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले यसबारे गृहकार्य गरी आवश्यक कागजात समेत तयार पारेको छ ।
Advertisement 1
सूत्र परिचालन कस्तो अवस्थामा, कसरी गर्ने लगायतका विषयहरु समेटेर अपराध अनुसन्धान विभागले एक निर्देशिकाको ड्राफ्ट समेत बनाइसकेको छ ।
सूत्र परिचालन निर्देशिकाको ड्राफ्ट तयार पारिएको अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले पुष्टि गरे । ‘सूत्र परिचालन निर्देशिका २०८१ तयार पारेर गृह मन्त्रालयमा पठाएका छौं,’ एआईजी कडायतले भने, ‘पास भएपछि कार्यान्वयनमा जानेछ ।’
Advertisement 2
निर्देशिकाको हकमा गृह मन्त्रालयबाट पास गराउनुपर्ने भएकाले गृहमा फाइल पठाइएको प्रहरीको भनाइ छ । गृहले उक्त फाइल अध्ययनकै क्रममा रहेको जवाफ प्रहरी प्रधान कार्यालयलाई दिएको छ ।
नेपाल प्रहरीमा अहिले लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) सूत्र परिचालन गर्दै आएको छ । त्यसका लागि केही रकम समेत छुट्याइएको हुन्छ । तर अन्य युनिटका लागि सूत्र परिचालन भनेर रकम छुट्याइएको हुँदैन ।
Advertisement 3
अपराध अनुसन्धानमा सूचना महत्वपूर्ण हुने तर बिना लगानी सूचना आउन गाह्रो हुने भन्दै अपराध अनुसन्धान विभागले सूत्र परिचालनको आवश्यकता रहेको औंल्याएको छ ।
‘कतिपय गोप्य कोभर्ड अपरेसनदेखि अन्य अपराध अनुसन्धानहरुमा पनि सूचना महत्वपूर्ण मानिन्छ । तर सूत्र परिचालन निर्देशिका नहुँदा यसमा समस्या हुने गरेको छ,’ एआईजी कडायत भन्छन्, ‘आगामी दिनमा यस्तो बाधा नहोस् भन्ने हिसाबले सूत्र परिचालन निर्देशिका बनाइएको हो ।’
निर्देशिकाले कस्तो अवस्थामा सूत्र परिचालन गर्ने, कसले परिचालन गर्नसक्ने, त्यसको गोपनीयता के हुने जस्ता विषयहरु समेटेर निर्देशिकाको ड्राफ्ट तयार पारिएको छ । यदि उक्त निर्देशिका पारित भएर कार्यान्वयनमा आएको अवस्थामा कोभर्ड अपरेसनमा सहज हुने अपेक्षा प्रहरी प्रधान कार्यालयको छ ।
यसअघि कोभर्ड अपरेसनमा खटिएका अनुसन्धान अधिकृतहरु नै एम्बुस (कारबाही)मा पर्दै आएका थिए । सूत्र परिचालन निर्देशिका भने बाहिरी व्यक्तिलाई प्रयोग गर्न सकिने र कोभर्ड अपरेसनको प्रकृति समेत उल्लेख भएकाले अनुसन्धानमा खटिएका प्रहरी कारबाहीमा पर्न सम्भावना पनि कम हुने बताइएको छ ।
बाह्य तथा आपराधिक व्यक्तिसँग साँठगाँठ भएको भन्दै यसअघि ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा प्रहरी अधिकारी नै कारबाहीमा परेका थिए ।