
सुरक्षा सम्बादाता १३ फागुन २०८१ काठमाडौँ । वर्तमान ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । नेकपा बहुमतले मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिका विरुद्धमा देशव्यापी ६ महिने जन–संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्दै पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले काँग्रेस–एमाले घुमाउरो तरिकाले पश्चगमनको तयारीमा लागिरहेको गम्भीर आरोप लगाए ।
बास्तोलाले ताप्लेजुङको पाथीभरामा जनताको जमिन खोसेर एकाधिकार पुँजीपतिको नीजिकरण गरी माफियाको सम्पत्तिमा रूपान्तरण गर्ने योजना रहेको र जनतामाथि सरकारी दमनको पनि भर्त्सना गरे ।
उक्त पार्टीका स्थायी समिति सदस्य गुणराज लोहनीले बैठकका निर्णयहरू सार्वजनिक गर्दै “दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्था अन्त्य गरौँ ! समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ” भन्ने नारा सहित “भ्रष्ट, दलाल पुँजीवादी व्यवस्था विरुद्ध ६ महिने जनसंघर्ष अभियान” सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
विभिन्न परियोजनासहित एमसीसी परियोजना खारेज गरेर देशलाई आत्मनिर्भर बनाउन संघर्ष गर्नुपरेको बताए ।