
दिनेश राज न्यौपाने
१९ फागुन २०८१ कोहलपुर ; बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा राईनो फुटबल क्लब गण्डकीलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ विजयी भएको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर-२स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबले सहज जित हासिल गरेको हो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भएपनि दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा प्लानिङ व्वाईज विपक्षी राईनो फुटबल क्लबमाथि हाबि भएको थियो । खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ व्वाईजका जर्सी नम्बर १४ का सरोज कार्कीले गोल गरेर सहज जित दिलाए ।
खेलमा प्लानिङ व्वाईज युनाइटेड क्लबका एलेक्स म्यान अफ र म्याच घोषित भएका हुन। म्यान अफ र म्याच घोषित एलेक्सलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धितालले संयुक्तरुपमा नगद पाँच हजार प्रदान गरेका थिए ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल भोलि मंगलबार दिउँसो ३ः३० बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब,सुर्खेतबीच हुने खेल पश्चात् भोलि मंगलबार क्वाटर फाइनल समीकरण सकिने र बुधबारदेखि सेमी फाइनल समीकरण सुरु हुने संयोजक बस्नेतले बताए । प्रतियोगिता मर्यादित रुपमा भइरहेको र दैनिक दर्शकहरुको समेत उपस्थिति उल्लेख रहेको बस्नेतको भनाइ छ ।
सोमबार गोल्डकपको तेस्रो क्वाटर फाइलन खेल जित्दै प्लानिङ व्वाईज युनाइटेड क्लब सेमिफाइनल प्रवेश गरेको छ । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब,कोहलपुर र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । आज भएको खेलमा २–० गोल अन्तरले पराजित भएको राईनो फुटबल क्लब गण्डकी, भारतको साहारा फुटबल क्लब र लुम्बिनी फुटबल क्लब घोराही,दाङ प्रतियोगिताबाट बाहिरिएका हुन् ।