
दिपक शाही २० फागुन २०८१ काठमाडौं; काठमाडौं महानगरपालिकाविरुद्ध सरकारले नै भ्रम फैलाएको काठमाडौंका मेयर बालेन्द्र शाहले आरोप लगाएका छन् । सरकारले प्रशासकीय अधिकृत नपठाएको विषयमा महानगरलाई नै दोष दिन खोजेपछि उनले यस विषयमा ६ बुँदामार्फत प्रस्ट पार्दै प्रधानमन्त्री केपी शर्मा ओली माथि समेत आक्रोश पोखेका हुन् । जति भ्रम फैलाए पनि सुशासनका लागि आफू नझुक्ने शाहको भनाइ छ । ‘जति भ्रम फैलाए पनि हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो,’ शाहले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुशासनका लागि जोसँग जुध्नुपरे पनि तयार छु, तर सम्झौता गर्दिनँ । सुशासन कायम गरेरै छोड्छु ।’
पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गर्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । महानगरकै गल्ती देखाउने गरी भ्रम फैलाइएको भन्दै उनले त्यस विषयमा खण्डन पनि गरेका छन् । भ्यु टावरको नक्सा पास, महानगरमा प्रशासकीय अधिकृत नटिकेको, महानगरपालिकाका प्रशासकीय अधिकृत जान नचाहेको, निमित्त तोक्ने अधिकार, छानबिन रिपोर्ट लुकाएको तथा मन्त्रालयसँग समन्वय नगरेको विषयमा उनले स्पस्ट पारेका हुन् । बालेनले भनेका छन्, ‘कहिलेदेखि नक्सापास मेयरले गर्न थाले ? सामान्य कानुनको ज्ञान राख्नेले पनि भन्न सक्छ कि यसको अधिकार मेयरसँग हुँदैन ।’ कानुन मिचेर तत्कालीन प्रशासकीय अधिकृत सरोज गुरागाईंले नक्सापास गरेको भन्दै महानगरपालिकाले उनलाई जिम्मेवारीबाट हटाएर छानबिन थालेको थियो । जुन विषयमा मेयरकै कमजोरी रहेको भन्ने आरोप लागेपछि यस विषयमा उनले प्रस्टीकरण दिएका हुन् ।
महानगरपालिकामा प्रशासकीय अधिकृत जान नचाहेको भनेर सरकारबाटै भ्रम फैलाइनु लज्जास्पद, लाचार र गैरजिम्मेवारी भएको उनको भनाइ छ ।
Advertisement 1