
२० फागुन २०८१ काठमाडौं । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट उठेको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई सफाइ दिएको छ ।प्राप्त सहयोगलाई फाउन्डेसनले प्रक्रियागतरूपमा नै खर्च गरेको ठहरसहित अख्तियारले उनीहरुलाई क्लीन चिट दिएको छ।
चितवन क्रिकेट संघमा तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले गत २०७८ साल माघ २ गते धुर्मुस र सुन्तलीविरुद्ध अख्तियारमा उजुरी हालेका थिए । देश-विदेशमा रहेका नेपालीहरुबाट संकलित चन्दा र भरतपुर महानगरलगायत सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाएको र त्यसको दुरुपयोग गरेको उनको दाबी थियो । तर, अख्तियारको तीन वर्ष लामो अनुसन्धानबाट फाउन्डेसनले गरेको खर्च प्रक्रियामा कुनै कैफियत भएको देखिएको छौन ।
अख्तियारका अनुसन्धान अधिकृत विमलकिशोर केपीले अधिकारीको उजुरीमा अनुसन्धान पूरा भई तामेलीमा राखिएको जानकारी गराउँदै केही दिनअघि भरतपुर महानगरपालिकालाई पत्र पठाएका छन् । उक्त पत्रमा पछि थप प्रमाण फेला परे कानूनबमोजिम हुने उल्लेख छ ।