१५ चैत २०८१ काठमाडौं – नेपाल पत्रकार महासंघले बदलिएको परिस्थितिका कारण यही चैत १६ गतेका लागि तय गरिएको स्थापना दिवसका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। महासंघले पत्रकार हत्या र सञ्चारमाध्यममाथि भएका आक्रमणहरूका विरुद्ध शोकसभा र विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
Advertisement 1
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिअनुसार, विरोधसभा चैत १६ गते शनिबार बिहान ८ः०० बजे माइतीघर मण्डलामा आयोजना हुनेछ। आन्दोलनकारीले लगाएको आगलागीमा परेर एक पत्रकारको मृत्यु भएको घटनालाई लिएर महासंघले यो विरोध प्रदर्शन गर्न लागेको हो।
Advertisement 2
महासंघले सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी र नागरिक समाजलाई शोकसभा तथा विरोध कार्यक्रममा सहभागी भई प्रेस स्वतन्त्रताको रक्षा गर्न आह्वान गरेको छ। साथै, उपत्यका बाहिरका प्रदेश समिति तथा शाखा समितिहरूलाई पनि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी यही विषयमा केन्द्रित कार्यक्रम गर्न निर्देशन दिइएको छ।