१६ चैत २०८१ काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ वा नजरबन्द गर्ने तयारी भइरहेको भन्दै कडा आपत्ति जनाएका छन्।शनिबार जारी विज्ञप्तिमा सुवेदीले पूर्वराजालाई बदनाम गराउने र घटनामा संलग्न देखाउने उद्देश्यले सरकारले यस्तो कदम चाल्न लागेको समाचार बाहिर आएको दाबी गरेका छन्। उनले यदि यस्तो प्रयास भएमा देशभर स्वतःस्फूर्त रूपमा नागरिक आन्दोलन उठ्ने चेतावनी दिएका छन्।
Advertisement 1
चैत्र १५ गते काठमाडौँको तीनकुनेमा आयोजित आन्दोलन घोषणा सभामा सरकारको नियोजित घुसपैठका कारण सभा बिथोलिएको सुवेदीको आरोप छ। उनले सभा सुरू हुन नपाउँदै सुरक्षाकर्मीले अनपेक्षित रूपमा हस्तक्षेप गरी अश्रु ग्याँस, गोली प्रहार र तोडफोड गराएको दाबी गरेका छन्।
‘यो आन्दोलन कुनै नेताको इसारामा चल्दैन, जनचाहना र जनविद्रोहबाट उत्पन्न आन्दोलनलाई जनताले नै अगुवाइ गर्नेछन्,’ सुवेदीले भने। उनले आफूहरू शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको स्पष्ट पार्दै, सहादत प्राप्त वीर योद्धाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।