
२५ चैत २०८१ कोहलपुर – इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको संयुक्त आयोजनामा आज कोहलपुर नगरपालिका वडा नं. ८, पिपिरीस्थित वडा कार्यालयको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम इलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) धर्मराज भण्डारीको अध्यक्षता तथा वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय नागरिक तथा आमसर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूले प्रहरी सेवामा देखिएको ढिलासुस्ती, पारदर्शिताको अभाव, जवाफदेहीतामा कमी लगायतका गुनासाहरू व्यक्त गरेका थिए। उनीहरूका गुनासालाई सम्बोधन गर्दै प्र.ना.उ. धर्मराज भण्डारीले प्रहरी सेवा प्रवाहलाई अझ छरितो, निष्पक्ष, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले प्रहरीप्रति जनताको भरोसा बढाउने खालका गतिविधिमा जोड दिँदै, आम नागरिकबाट उठाइएका बिषयहरूलाई गम्भीरतापूर्वक लिएर आगामी दिनमा सेवा सुधारमा विशेष ध्यान दिने बताए।
कार्यक्रमले प्रहरी र नागरिकबीचको आपसी विश्वास तथा सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।