
२०८१ कैलाली, चैत्र २६ – जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ०३ चटकपुरस्थित एन एस होटलमा छापा मारेर ३ ग्राम ७६० मिलिग्राम लागु औषध (खैरो हेरोइन)सहित चार जनालाई पक्राउ गरेको छ।
Advertisement 1
मिति २०८१।१२।२५ गते रातिको समयमा होटलमा लागु औषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी चटकपुरबाट खटिएको टोलीले होटलमा चेकजाँच गर्दा उक्त परिमाणको खैरो हेरोइन फेला पारी रीतपूर्वक बरामद गरिएको हो।
पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ०८ निवासी २० वर्षीय सुरेश बिष्ट, भिमदत्त नगरपालिका वडा नं. १० निवासी २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ०८ निवासी १९ वर्षीय रिजन कठायत, तथा कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ०३ मिलन चोककी १८ वर्षीया आशिका सिजापती रहेका छन्।उनीहरूलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।