
२०८१ चैत २७ रौतहट: रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साह भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला, झरौखर थाना क्षेत्रमा मोटरसाइकलको ट्यांकीभित्र गाँजा लुकाएर तस्करी गरेको आरोपमा पक्राउ परेका छन्।सीमा सुरक्षा बल (SSB) क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भागसिंह गुर्जरका अनुसार, साहलाई मंगलबार साँझ भारतको सिमावर्ती पिठवा गाउँ नजिकै पिलर नम्बर ३५६/४ को छेउमा पक्राउ गरिएको हो। उनी प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो पल्सर मोटरसाइकलमा शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।
झरौखर थाना गस्ती टोली र SSB जमुनिया टोलीले संयुक्त रूपमा मोटरसाइकल जाँच गर्दा ट्यांकीभित्र लुकाइएका ४ किलो ३०० ग्राम गाँजा बरामद गरेका थिए। एसएसबीका अनुसार, मुकेशले यसअघि पनि मोटरसाइकलको ट्यांकी र सिटमुनी लुकाएर नेपालबाट भारतमा गाँजा तस्करी गरेको स्वीकार गरेका छन्।
पक्राउ परेका साहलाई मोटरसाइकल र बरामद गाँजासहित आवश्यक कारबाहीका लागि झरौखर थानाको जिम्मा लगाइएको छ।
प्रहरी अनुसन्धान अनुसार, मकवानपुर जिल्लाको दुर्गम क्षेत्रहरूमा उत्पादित गाँजा हाल रौतहट र बाराका विभिन्न नाकामार्फत तस्करी गरी भारत पुर्याइने गरेको छ। पछिल्लो समय भारतको बिहार राज्यमा पूर्वी चम्पारणका एसपी सुवर्ण प्रभातको नेतृत्वमा अपराध नियन्त्रण अभियान तीव्र भएको छ। प्रहरीका अनुसार, प्रभातको निर्देशनमा दर्जनौं अपराधी र लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइसकिएको छ।