
२९ चैत २०८१ झापा: राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतबाट पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई स्कर्टिङ गर्दै हाल भद्रपुर विमानस्थल पुर्याएको हो। सीआईबीले प्रसाईंलाई बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाउने तयारी गरिरहेको छ।
Advertisement 1
१५ चैतमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनमा हिंसा भड्किएको थियो। सोही घटनापछि फरार रहेका प्रसाईंलाई पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको अधिकारीहरूले जानकारी दिएका छन्।
प्रदर्शनको क्रममा प्रसाईंले प्रहरीले उपस्थित भएको भीडमा गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रहरूमा तोडफोड, ढुंगामुढा, आगजनी र लुटपाट गरेका थिए। घटनामा जम्मा ४० संरचनामा क्षति पुगेको थियो भने सार्वजनिक तथा निजी गरी ६९ वटा सवारी साधनमा तोडफोड भएको थियो।
Advertisement 2
प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो। घटनामा १२९ जना घाइते भएका छन्, जसमा पाँच जना अझै अस्पतालमा उपचाररत छन्।
यही घटनामा संलग्न भन्दै नेपाल प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूविरुद्ध राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवका मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ।