
२०८२ बैशाख ०२ रुपन्देही — राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत सुन्दर हार्डवेयर एण्ड प्लाइउडका सञ्चालक जोगेन्द्र अग्रहरीविरुद्ध राजस्व ठगीको मुद्दा दर्ता गरेको छ।
Advertisement 1
कार्यालयका अनुसार, निर्माण सामग्री र फर्निचरमा समेत राजस्व चुहावट भेटिएको यो एउटा नयाँ र नौलो उदाहरण हो। अनुसन्धानपछि कार्यालयले सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटस्थित सो हार्डवेयर पसल तथा गोदाममा छापा मारेर राजस्व हिनामिनाको प्रमाण संकलन गरेको थियो।
त्यसपछि फर्म र प्रोप्राइटर जोगेन्द्र अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बैशाख २ गते अभियोग पत्र दायर गरिएको हो।
Advertisement 2
राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ४ (छ) र (झ) अनुसार अग्रहरीविरुद्ध राजस्व चुहावटको कसूरमा मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख विवेक घिमिरेले जानकारी दिएका छन्।
अनुसन्धानका आधारमा अग्रहरीले कुल चौवन्न लाख एकचालीस हजार चार रुपैयाँ ५० पैसा बराबरको राजस्व छलेको ठहर गरिएको छ। सो बिगो रकममा शतप्रतिशत जरिवाना सहित एक करोड आठ लाख बयासी हजार नौ रुपैयाँ असुल उपरको मागदाबी गरिएको छ। साथै, हदैसम्मको कैद सजायको पनि माग गरिएको छ।
Advertisement 3
कार्यालय प्रमुख घिमिरेका अनुसार यो मुद्दा निर्माण सामग्री र फर्निचर क्षेत्रमै राजस्व हिनामिनाको पहिचान गरिएको पहिलो मुद्दा हो। उनले जानकारी दिए अनुसार राजस्व ठगीसम्बन्धी मुद्दाहरू निरन्तर दर्ता भइरहेका छन् र हाल ६–७ वटा थप मुद्दा दर्ता हुने प्रक्रियामा छन्।