त्रिविको १ हजार रोपनी जग्गा हिनामिना; छानबिन समिति को ठहर

Advertisement 1

सुरक्षा सम्बादाता २३ मङ्सिर २०८१ काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को १ हजार रोपनी जग्गा हिनामिना भएको पाइएको छ । जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर छ ।

त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले ३ हजार ७ सय रोपनी जग्गामा १ हजार रोपनी जग्गा विभिन्न संघ संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको हो । ‘जग्गा संघ संस्थालाई बाँडेको फेला परेको छ । त्रिविको १ हजार रोपनी जग्गा मिचिएको पनि देखिन्छ,’ खोजबिनमा संलग्न एक सदस्यले भने ।

Advertisement 2

संघ संस्थालाई जग्गा बाँड्न त्रिविकै पदाधिकारी संलग्न भएको र उनीहरुमाथि थप अनुसन्धान गरी कारबाही गर्न समितिले सुझाव दिएको छ । ‘त्रिविको पदाधिकारी जग्गा बाँडफाँटमा संलग्न भएको प्रतिवेदनले औंल्याएको छ । पदाधिकारीमाथि थप अनुसन्धानको खाँचो देखिन्छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।

Advertisement 3

 


पुल्चोक र मिनभवनमा रहेको त्रिविको जग्गा पनि हिनामिना भएको समितिको निष्कर्ष छ । काठमाडौं बाहिर पनि धेरै ठाउँमा त्रिविको जग्गा अतिक्रमण भएको निष्कर्ष निकालेको खोजबिन समितिले समय अभावका कारण उपत्यका बाहिरको जग्गामा अझै अध्ययन आवश्यक रहेको औंल्याएको छ । ६ महिनाको समयमा सबै ठाउँमा पुग्न गाह्रो भएकाले थप अध्ययनको आवश्यक रहेको खोजबिन समितिको भनाइ छ ।


समितिले प्रतिवेदन शिक्षा मन्त्रालयलाई बुझाएको छ । तर यसलाई मन्त्रिपरिषदमा लगेपछि मात्र औपचारिकरुपमा खोल्ने बताइएको छ । मन्त्रिपरिषद्बाट समिति बनाइएकाले प्रतिवेदनमाथि मन्त्रिपरिषद्ले निर्णय गरेपछि थप काम शिक्षा मन्त्रालयले गर्ने तयारी छ ।

शिक्षा मन्त्री विद्या भट्टराई क्याबिनेटबाट निर्णय भएपछि मात्र थप काम मन्त्रालयले गर्ने बताउँछिन् । ‘प्रतिवेदन मन्त्रालयमा बुझाउनु भएको छ । क्याबिनेटले निर्णय गरेर समिति बनाएको हो । त्यसैले क्याबिनेटमै प्रतिवेदन खोल्ने हो । हामीले खोलेका छैनौं,’ अनलाइनखबरसँग उनले भनिन् ।

छानबिन समितिका सदस्य जानकीबल्लभ अधिकारी प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियामा रहेको बताउँछन् । ‘प्रतिवेदन मन्त्रालयमार्फत बुझाउने भनेको थियो । मन्त्रीज्युले प्रधानमन्त्रीलाई बुझाएपछि सार्वजनिक गर्ने भनिएको छ,’ उनले भने ।

सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए ।

प्रकाशित : १ महिना अगाडि

नेकपा बहुमतको खबरदारी पछि राष्ट्र बैंकको सकारात्मक पहल

नेकपा (बहुमत) बर्दिया जिल्लाको प्रथम जिल्ला भेला गुलरियामा सम्पन्न

विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सीहरु लाई कार्बाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

कोहलपुर महोत्सवमा राष्ट्रिय कलाकारहरु आउने क्रम जारी: भोली नायक पल शाह आउँदै

नेपालगन्ज मेडिकल कलेज बन्यो संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.

Designed by Gorkhaly Labs