मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत बागेश्वरी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा समाजशास्त्र विषय सञ्चालन गर्न माग गर्दै अखिल क्रान्तिकारी, अनेरास्ववियु तथा निबर्तमान स्ववियु पदाधिकारीहरूले क्याम्पस प्रशासनलाई संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका छन्। विद्यार्थीहरूको दीर्घकालीन मागलाई औपचारिक रूपमा अघि बढाउँदै उनीहरूले क्याम्पस प्रमुख दानबहादुर हमाल र विभागीय प्रमुख खोपी राम ओली क्षेत्रीलाई विषय थप्नुपर्ने आवश्यकता स्पष्ट रूपमा प्रस्तुत गरेका हुन्।
ध्यानाकर्षण पत्रमार्फत विद्यार्थी संगठनहरूले बागेश्वरी क्याम्पसमा समाजशास्त्र विषय नहुँदा स्नातकोत्तर तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरू बाहिरी क्याम्पस र शहरमा निर्भर रहनुपरेको र यसले आर्थिक तथा शैक्षिक दुवै पक्षमा समस्या सिर्जना गरेको उल्लेख गरेका छन्। उनीहरूको भनाइमा क्याम्पसमा आवश्यक संरचना, विद्यार्थी संख्या र विषय सञ्चालन गर्न सक्ने योग्यतासमेत रहेकाले यसै शैक्षिक सत्रदेखि नै समाजशास्त्र विषय सञ्चालन गर्नु क्याम्पस प्रशासनको प्रमुख जिम्मेवारी हो।



निबर्तमान स्ववियु अध्यक्ष देवेन्द्र बहादुर बुढाले भने —
“समाजशास्त्र विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको संख्या उल्लेख्य छ। क्याम्पसले उपलब्ध गराउनुपर्ने विषय अभावका कारण वर्षौंदेखि विद्यार्थीहरू बेवास्ता हुँदै आएका छन्। क्याम्पस प्रशासन, विद्यार्थी संगठन र विद्यार्थीहरूको सहकार्यमा यसपालि अवश्य पनि विषय थप गर्ने वातावरण बन्नु आवश्यक छ।”
उनका अनुसार स्ववियु पदाधिकारीहरूले पहिलेदेखि नै समाजशास्त्र विषय थप्न पहल गर्दै आएको र अहिले स्नातकोत्तर तहको भर्ना खुल्ने बेलामा यो माग झनै आवश्यक र समयानुकूल बनेको छ। विद्यार्थीहरूले बुझाएको ध्यानाकर्षण पत्रमा क्याम्पसमा उपलब्ध पूर्वाधार, पर्याप्त विद्यार्थी रुचि, विषय सञ्चालनको आवश्यकता र विश्वविद्यालय प्रक्रियालाई शीघ्र अघि बढाउन आग्रह गरिएको छ।

विद्यार्थीहरूका संयुक्त संगठनहरूको सहभागितामा बुझाइएको उक्त ध्यानाकर्षण पत्रले क्याम्पस प्रशासनलाई त्वरित कदम चाल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। समाजशास्त्र विषय थपिएसँगै क्याम्पसमा मानविकी संकायको शैक्षिक दायरा व्यापक हुने र स्थानीय विद्यार्थीहरूको उच्च शिक्षामाथिको पहुँच अझ सुदृढ हुने विद्यार्थीहरूको तर्क छ।





