
दिपक शाही २०८१ चैत २७ नेपालगञ्ज, बाँके — यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा करोडौं रुपैयाँ असुली गर्दै सेटिङमा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुँदै आएको खुलासा भएको छ। सो अनियमितता प्रकरणमा संलग्न रहेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार जनालाई नियन्त्रणमा लिएको छ।
Advertisement 1
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार मासिक तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन हुने गरेको सूचना एवं उजुरीका आधारमा आयोगको टंगाल, बुटवल तथा नेपालगञ्ज सम्पर्क कार्यालयबाट संयुक्त रूपमा टोली खटिएको थियो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, ज्यालादारी सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नासु मुकुन्दराज केसी तथा मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्।आयोगले उनीहरूले प्रयोग गर्दै आएका विद्युतीय उपकरण समेत बरामद गरी अनुसन्धान अघि बढाएको जनाएको छ।