
२०८२ बैशाख १३ काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले आफ्नो प्रथम राष्ट्रिय सम्मेलन यही वैशाख १६, १७ र १८ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। भ्रष्टाचार, अन्याय र कुशासनविरुद्ध सशक्त प्रतिवाद गर्दै आएको यो संगठनले ‘भ्रष्टाचार र कुशासनका विरुद्ध युवा आन्दोलन, सुशासन र समृद्धिका पक्षमा प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ यो सम्मेलन गर्न लागेको हो।
Advertisement 1
कार्यक्रमको उद्घाटन सत्र माइतीघर मण्डलामा हुनेछ भने बन्दसत्र इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न गरिने आयोजकले जानकारी दिएको छ। उद्घाटन सत्रमा विभिन्न वामपन्थी नेताहरू, सामाजिक अभियन्ता, बुद्धिजीवी र देशभरबाट आएका युवा प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मेलनले संगठनको भावी नीति, कार्यक्रम र रणनीति निर्माण गर्ने मात्र होइन, नयाँ नेतृत्वको चयन समेत गर्ने संयोजक हरिष भट्टले जानकारी दिए। उनका अनुसार, यो सम्मेलन भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध आवाज उठाउने युवाहरूको साझा मञ्च बन्नेछ।
Advertisement 2
क्रान्तिकारी युवा संगठन नेपालले विगत केही वर्षयता भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्याय, शिक्षा र रोजगारीको अधिकारका पक्षमा आन्दोलन गर्दै आएको छ। संगठनका अनुसार, देशमा फैलिँदो कुशासन, बेरोजगारी, सार्वजनिक सेवा प्रणालीमा देखिएको निष्क्रियता र युवाहरूको पलायनविरुद्ध एकीकृत आवाज उठाउनु अहिलेको आवश्यकता हो।
कार्यक्रममा सातै प्रदेश र विभिन्न जिल्ला तथा विश्वविद्यालयहरूबाट प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। सम्मेलनलाई सफल बनाउँदै देशभर युवाहरूमा जागरण ल्याउने उद्देश्यका साथ तयारी तीव्र पारिएको छ।