
दिपक शाही २०८२ कोहलपुर, बैशाख २० – कोहलपुर नगरपालिकाले आउँदो बैशाख २५ गते १२ औं स्थापना दिवस तथा वार्षिकोत्सव २०८२ भव्य समारोहका साथ मनाउने तयारी गरेको छ। नगरपालिकाले यस अवसरलाई सांस्कृतिक पहिचानको उजागर, निजी क्षेत्रसँगको सहकार्य, र नगरको समग्र विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने अवसरको रूपमा लिएको छ।स्थापना दिवसलाई उत्सवको रूपमा मनाउन नगर प्रमुख पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। यसैगरी, विभिन्न कार्यसञ्चालनका लागि उपसमितिहरू गठन गरी तयारी तीव्र पारिएको छ। सचिवालय उपसमितिको संयोजकत्व वडाध्यक्ष विरेन्द्र कुमार शाहले सम्हाल्नु भएको छ भने अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमितिको नेतृत्व वडाध्यक्ष लाल बहादुर रानाले गर्नुभएको छ। खेलकुद सम्बन्धी कार्यक्रमको जिम्मेवारी वडाध्यक्ष हरि कठायतले सम्हाल्नुभएको छ भने स्वास्थ्य तथा सरसफाइ उपसमिति वडाध्यक्ष मुवारक अली गुजरको संयोजकत्वमा सक्रिय छ।
Advertisement 1
नगरपालिकाले बैशाख २१ गतेदेखि २५ गतेसम्म स्थापना सप्ताहको रूपमा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ। यस अवधिमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पञ्चेबाजा, टप्पा, थारु, गन्धर्व, मयुर, खाडो र ख्याली जस्ता सांस्कृतिक प्रस्तुति, सामूहिक नाच प्रतियोगिता, खुला कविता वाचन, विद्यालयस्तरीय हाजिरी जवाफ जस्ता कार्यक्रम समावेश गरिएको छ। साथै, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, उद्योगी, व्यवसायी र पत्रकारबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिनेछ। महिला कर्मचारी, शिक्षिका, संघसंस्था र सञ्चारकर्मीबीच छुट्टै भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ।
स्थापना दिवसको सन्दर्भमा नगरले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम, विद्यालयस्तरीय दौड प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविरको आयोजना पनि गर्ने भएको छ। त्यस्तै, उत्कृष्ट करदाता, उत्कृष्ट खेलाडी र नगरमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने जानकारी गराइएको छ।
Advertisement 2
स्थापना दिवसको मुख्य समारोह कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित न्युरोडको खुला मैदानमा आयोजना गरिनेछ। भव्य समारोहमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सेना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रमको शुरुवात बिहान ६:३० बजे पिपल चौताराबाट प्रभातफेरीसहित गरिनेछ।
१२ औं स्थापना दिवसको अवसरलाई नगरको साझा चाडका रूपमा सफल बनाउन नगरपालिकाले सबै क्षेत्र, समुदाय, संघसंस्था र नगरवासीहरूसँग सहकार्य, सहभागिता र सहयोगको हार्दिक अनुरोध गरेको छ।