
दिपक शाही २०८२ बैशाख २९ नेपालगञ्ज, बाँके – बाँके जिल्लामा हालै कार्यभार सम्हालेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राम प्रसाद घर्तीले सोमबार नेपालगञ्जमा पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित उक्त कार्यक्रममा एसपी घर्तीले आफूले अघि बढाउन लागेको कार्यदिशा, सुरक्षाका प्राथमिकता र प्रहरी सेवामा पारदर्शिता र जनमैत्रीपनाको प्रतिबद्धता प्रस्ट पारे। उनले जिल्लामा कानूनको शासन बलियो बनाउने, लागुऔषध तथा आपराधिक गतिविधिमाथि कडा निगरानी राख्ने तथा सञ्चारकर्मीसँग सहकार्यमा काम गर्ने दृढता व्यक्त गरे।
“म खुला ढोका नीतिमा विश्वास गर्छु। सञ्चारकर्मीहरू हाम्रो ऐना हुन्। तपाईंहरूको सुझाव, प्रश्न र आलोचना हाम्रो सुधारको आधार हो,” एसपी घर्तीले भने।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका सम्पादक, पत्रकार तथा जिल्लाका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। पत्रकारहरूले जिल्लाको समग्र सुरक्षा अवस्था, सूचना आदानप्रदान र प्रेस–प्रहरी सम्बन्ध थप सुदृढ बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। एसपी घर्तीको आगमनसँगै बाँकेमा जनसुरक्षा र सुशासनमा नयाँ गति ल्याउने विश्वास लिइएको छ।