एमाले सांसदविरुद्धको पक्राउ पुर्जी १० महिनादेखि गुपचुप

२०८२ बैशाख २९ बुटवल — पूर्वमन्त्रीसमेत रहेका लुम्बिनी प्रदेशका एमाले सांसद विष्णु पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले १० महिना अघि पक्राउ पुर्जी जारी गरे पनि सो विषय गुपचुप राखिएको खुलासा भएको छ। कम्पनी साझेदारी सम्बन्धी मुद्दामा अदालतले २०७९ साल असारमा पक्राउ पुर्जी जारी गरेको हो।

Advertisement 1

मोरङको पल्लवी इलेक्ट्रा प्रालिले गौतम बुद्ध हाइड्रोपावर प्रालिलाई विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको थियो। सो सामग्रीको भुक्तानी नदिएको भन्दै पल्लवी कम्पनीले २०७५ साल चैत ११ गते अदालतमा मुद्दा दर्ता गराएको थियो। २०७७ मंसिर २३ गते मोरङ जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले १३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो। तर, अदालतको फैसला कार्यान्वयन हुन सकेको छैन।

अदालतको आदेशका आधारमा २०८१ साउन ६ गते जिल्ला प्रहरी कार्यालय मोरङले इलाका प्रहरी कार्यालय बुटवललाई पत्राचार गरे पनि यसबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको थिएन। पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। उनी प्रधानमन्त्रीसँग भेट नगरी कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

Advertisement 2

पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन् भने उनको बसोबास बुटवलमा रहेको छ। उनले पक्राउ पुर्जीबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन्। ‘हिजो पत्रकारले सोध्दा मात्र थाहा पाएँ,’ उनले प्रतिक्रिया दिएका छन्।

पन्थीका अनुसार गौतम बुद्ध हाइड्रोपावरमा करिब ५० जनाको साझेदारी थियो र घाटा गएपछि कम्पनी बन्द गरिएको थियो। ‘करोडौंको कम्पनी घाटामा गएर बिक्री भएको यति वर्ष भयो। १३ लाख लिनुपर्ने भनेर यस्तो व्यवहार गर्नु राम्रो होइन। म आजै कानुनी परामर्शमा जान्छु,’ उनले भने।

Advertisement 3

उनले आफूलाई प्रतिशोधपूर्वक मुद्दामा तानिएको आरोप लगाउँदै भने, ‘५० जना शेयरहोल्डर मध्ये मलाई मात्र प्रतिवादी बनाइनु गलत हो।’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सांसद पन्थीविरुद्ध पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्रप्रसाद भट्टले आफू केही दिनअघि मात्रै आएका कारण विषयबारे जानकारी नभएको बताएका छन्। उनले रुपन्देहीका एसपीलाई आवश्यक अनुसन्धान गरी कानुनअनुसार अघि बढ्न निर्देशन दिएको जानकारी दिए।

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले पनि आफू नयाँ भएकाले सो विषयबारे स्पष्ट जानकारी नभएको बताए। उनले मोरङ प्रहरीलाई सोधपुछ गरिरहेको र मंगलबारसम्म सबै विवरण बुझेर अगाडि बढ्ने बताएका छन्।

प्रकाशित : १ महिना अगाडि

कोहलपुरमा मोबाइल पसल चोरी , संचालक लाई नियन्त्रणमा लगि पैसा असुली

कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव वाग्ले पक्राउ

कोहलपुर शवदाह गृह विवादमा भुम बहादुर भण्डारीको सार्वजनिक अभिव्यक्ति: अदालतको निर्देशनपालनमा जोड

कोहलपुर नगरपालिकाका सबै वडामा सरकारी कागजात अंग्रेजीमा बनाउन निजी प्रेस धाइने बाध्यता, शुल्क ३ सय रुपैयाँसम्म

कोहलपुरमा मालपोत कर्मचारी २० हजार नगदसहित पक्राउ

Designed by Gorkhaly Labs