
सुरक्षा सम्बादाता २०८२ बैशाख २९, पोखरा- पोखरामा ट्राफिक प्रहरीले स्कुटर चालकसँग जरिवाना वा कागजात जाँचको सट्टा ‘चिकेन कम्बो खाजा सेट’ मागेको अडियो सार्वजनिक भएपछि प्रहरी संगठन कडा आलोचनाको केन्द्रमा परेको छ।
Advertisement 1
‘हामी बफ खादैनौँ, चिकेन ल्याउनु है!’ भन्ने भनाइ समेटिएको उक्त अडियो क्लिप हाल सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल बनेको छ। अडियोमा ट्राफिक प्रहरीजस्तो सुनिने आवाजमा स्कुटर चालकसँग चिकेन सेट मगाउन आग्रह गर्दै बार्गेनिङ भइरहेको स्पष्ट सुनिन्छ।
स्रोतका अनुसार, यो घटना पोखराको एक मुख्य चोकमा घटेको हो। सामान्य ट्राफिक नियम उल्लङ्घनमा जरिवाना वा कागजात जाँचको प्रक्रिया अपनाउनु पर्नेमा ट्राफिक प्रहरीले त्यसको सट्टा खाजाको सेट मागेको गुनासो आएका छन्। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै प्रारम्भिक छानबिन अघि बढाएको छ।
Advertisement 2
कार्यालयका अनुसार, प्रहरी संगठनभित्र अनुशासन उल्लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई माफी नदिइने र सार्वजनिक अडियो प्रमाणका आधारमा दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु गरिएको छ।
केही दिनअघिमात्रै ट्राफिक प्रहरीसँग सम्बन्धित दुई वटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएका थिए, जहाँ प्रहरी अधिकारीहरूले सर्वसाधारणलाई हातपात गरेका दृश्य देखिएको थियो। यी सबै घटनाहरूले प्रहरी संगठनभित्र सुधार आवश्यक भएको जनगुनासो बलियो बनाएको छ।
Advertisement 3
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस घटनाप्रति आक्रोश व्यक्त गर्दै व्यङ्ग्य पनि गरेका छन्। एक जनाले लेखेका छन्, “अब ट्राफिकको हेल्मेटको सट्टा मेनु कार्ड लिएर हिँड्नुपर्ने त हो कि?”