
२०८२ काठमाडौँ, जेष्ठ १ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अन्नु बयलकोटी (उमेर ४६ वर्ष, स्थायी ठेगाना जिल्ला गौशाला भिमफेदीशरण गाउँपालिका वडा नं. ६ हाल काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. ३), निर्मल खड्का (उमेर २८ वर्ष, स्थायी ठेगाना ओखलढुङ्गा मनपो गाउँपालिका वडा नं. ७ हाल काठमाडौँ कुपण्डोल वडा नं. ११) र अन्नु खत्री (उमेर २३ वर्ष, स्थायी ठेगाना मकवानपुर कैलाश गाउँपालिका वडा नं. ३ हाल काठमाडौँ चन्द्रगिरी नगरपालिका वडा नं. ६) रहेका छन्।
Advertisement 1
उनीहरूलाई काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. ५ देवीस्थान र वडा नं. ६ फट्केश्वरीबाट विभिन्न कीर्ते तथा नक्कली कागजात र उपकरणसहित पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूले विगत चार वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न शैक्षिक संस्थाहरूको प्रमाणपत्र, नागरिकता, पुर्जी, सवारी चालक अनुमति पत्र, बैंक स्टेटमेन्ट, मेडिकल रिपोर्ट लगायतका कागजातहरू कीर्ते गरी नक्कली बनाउने कार्य गर्दै आएको खुलेको छ।
पक्राउ परेकाहरूले काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. ५ फट्केश्वरीको कोठामा बसेर नक्कली कागजातहरू डिजाईन, एडिट तथा प्रिन्ट गरी प्रतिकागजात १० हजारदेखि १५ हजार रुपैयाँसम्ममा व्यक्तिहरूलाई बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको छ। उनीहरूले विवाह प्रमाणपत्र, डिपेन्डेन्ट भिसाका लागि म्यारिज सर्टिफिकेट, बैंक लोनका लागि स्टेटमेन्ट तथा जागिरका लागि आवश्यक कागजातहरू नक्कली बनाउने गरेको समेत खुलासा भएको छ। त्यस्तै, विद्यार्थी भिसाका लागि शैक्षिक संस्थाको नक्कली स्टेटमेन्ट, जापान जानेका लागि होलोग्रामसहितको नक्कली शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र बनाउने कार्यमा समेत संलग्न रहेको पाइएको छ।
Advertisement 2
यसैगरी, उनीहरूले नेपाली नागरिकता देखाएर विदेशको पीआर तथा ग्रीनकार्डको लागि समेत नक्कली मेडिकल कार्ड र अन्य कागजातहरू बनाउने गरेको, भिजिट भिसाका लागि समेत बैंक स्टेटमेन्ट नक्कली बनाउने गरेको प्रमाण फेला परेको छ।
प्रहरीले उनीहरूको साथबाट सयौँ थान नक्कली कागजातहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका छाप तथा स्ट्याम्प, प्रिन्टर, कम्प्युटर, स्टेटमेन्ट कापी, विभिन्न अस्पताल र शैक्षिक संस्थाहरूको प्रमाणपत्रहरू, विभिन्न किसिमका मेशिनहरू लगायतका सामग्रीहरू बरामद गरेको छ।
Advertisement 3
उनीहरूविरुद्ध विद्यमान कानूनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ।