
दिपक शाही २०८२ जेठ १० शनिबार,कोहलपुर बाँके –कोहलपुर ११ बाँकेमा रहेको कोहलपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा पाठेघरसम्बन्धी एक दिवसीय स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविर आर.एम. अस्पताल प्रा.लि. कोहलपुर–११ को प्राविधिक समन्वयमा सञ्चालन गरिएको हो।
Advertisement 1
सहकारी संस्था र आर.एम. अस्पतालबीच भएको आपसी सम्झौता अनुसार सहकारीसँग आबद्ध शेयर सदस्य, कार्यसमिति सदस्य, कर्मचारी लगायत सम्पूर्ण सदस्यहरूले स्वास्थ्य परीक्षण गर्दा विशेष छुटको सुविधा प्राप्त गरेका थिए। शिविरमा ल्याब सेवा, भिडियो एक्सरे, सामान्य एक्सरे र होल बडी चेकअपमा छुटको व्यवस्था गरिएको थियो।
शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रमका दौरान १०० भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाएका थिए। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ सा.प्रा.डा. कविता सिंह पाण्डेले शिविरमा आएका महिलाहरूको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श दिएकी थिइन्।
Advertisement 2
आर.एम. अस्पतालका सञ्चालक डा. गोविन्द थारूको उपस्थितिमा सम्पन्न यो शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै महिलाहरूमा पाठेघरसम्बन्धी रोगको समयमै पहिचान र उपचारको अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
सहकारी संस्थाका पदाधिकारीहरूका अनुसार यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको छ।