
२०८२ जेठ १३ कोहलपुर- कोहलपुरमा निर्माण गरिएको ‘अत्याधुनिक’ विद्युतिय शवदाह गृहमा परीक्षणका नाममा गरिएको धार्मिक अभिनयले समाजमा गम्भीर प्रश्न खडा गरेको छ। सोमबार सम्पन्न उपकरण परीक्षणका क्रममा कुनै मानव शवको सट्टा बलिको रूपमा प्रयोग गरिएको बोकालाई जलाई परीक्षण गरिएको थियो। यस दृश्यले धार्मिक विधिको अपमान मात्रै होइन, प्रविधिमा भएको लापरवाहीको पनि पर्दाफास गर्यो।
Advertisement 1
शवदाह गृहमा पहिलोपटक बोकाको सद्गत गरिएको थियो—त्यो पनि लावारिस मानव शव नपाएर, प्रोटोकल पूरा गर्न भनेर। धार्मिक विधि झैँ देखाइए पनि, वस्तुतः त्यो कर्म होइन, कर्मको अभिनय मात्र थियो। पिण्ड दिइयो, रगतको घेरो लगाइयो र अन्ततः बोकाको शवलाई प्रसादको रूपमा जलाइयो। तर मेसिनले न त हड्डी पूर्णरूपमा जलाउन सक्यो, न नै शव खरानी बन्यो।
स्थानीय स्रोतका अनुसार, शवदाह गृहमा प्रयोग गरिएको विद्युतिय उपकरण न त कुनै वैज्ञानिक परीक्षण (Testing) बाट गुज्रिएको छ, न नै प्रमाणीकरण (Validation) गरिएको छ। उपकरण कुन कम्पनीको हो, ब्रान्ड के हो, क्षमता, तापमान, इन्धन खपत, वा ग्यारेन्टी सम्बन्धी कुनै सूचना सार्वजनिक गरिएको छैन। ‘अत्याधुनिक’ भनिएको मेसिनमा एक क्विन्टलभन्दा बढी दाउरा सकिएको थियो, तर परिणामले शून्यता मात्र देखायो।
Advertisement 2
“यो शवदाह गृह हो त? कि ठूलो सेकुवा पोल्ने मेसिन?” परीक्षण हेरेर फर्किएका एक स्थानीय नागरिकको तीतो टिप्पणी थियो। सामाजिक, धार्मिक र नागरिक समूहको उपस्थितिमा गरिएको परीक्षणले गुणस्तर, पारदर्शिता, र प्रविधिको प्रयोग सबैमा गम्भीर लापरवाही देखाएको छ।
Advertisement 3
यश बिषयमा हामीले बुझ्ने क्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरि लाई सम्पर्क गर्दा , उहाको फोन अफ थियो । कोहलपुर जस्तो शहरमा, जहाँ राजनीतिक दल, उद्योगपति, सञ्चारकर्मी र सचेत नागरिकको बाक्लो उपस्थिति छ, त्यहाँ यस्ता महत्वपूर्ण परियोजनामा प्रश्न किन उठ्दैनन्? आखिर जनताको करबाट बनेका संरचनामा उत्तरदायित्वको अभाव किन देखिन्छ?
अन्ततः परीक्षणपछि बाँकी रहेका अर्धजलेका हड्डी, कोइला र मौनताले यो प्रश्न उठाएको छ—कोहलपुरमा निर्मित शवदाह गृह नागरिकको विश्वास जलाउने चिहान मात्र त होइन?