
२०८२ जेठ १४ काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म १२ जनाको ज्यान गएको पुष्टि गरिएको छ।
Advertisement 1
सबैभन्दा पछिल्लो घटनामा उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यो प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो। त्यसअघि महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा थप ११ जनाको मृत्यु भइसकेको छ।
सक्रिय संक्रमित १,०८१ जना
Advertisement 2
भारतमा सक्रिय संक्रमितको संख्या हाल १,०८१ पुगेको छ। मंगलबार मात्रै कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ जना नयाँ संक्रमित फेला परेका छन्। सबैभन्दा धेरै संक्रमित केरल राज्यमा छन्, जहाँ ४३० जना सक्रिय संक्रमित छन्। यस्तै, गुजरातमा १३ जना संक्रमित निको भएका छन्।
चार नयाँ भेरियन्ट फेला
Advertisement 3
भारतीय चिकित्सा अनुसन्धान परिषद् (ICMR) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.७, एक्सएफजी, जेएन.१, र एनबी.१.८.१ गरी चार नयाँ भेरियन्ट देखा परेका छन्। यीमध्ये केही भेरियन्ट दक्षिण र पश्चिम भारतबाट संकलन गरिएका नमूनाहरूको जीन अनुक्रमणबाट पहिचान भएका हुन्।
‘गम्भीर अवस्था छैन, तर सावधानी अपनाउन जरुरी’
डा. बहलका अनुसार हालको अवस्था गम्भीर नरहे पनि सावधानी आवश्यक रहेको छ। विश्व स्वास्थ्य संगठन (WHO) ले पनि यस्ता भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ भनी वर्गीकरण गरेको छ।
जेएन.१ सबैभन्दा धेरै देखिएको भेरियन्ट
भारतमा सबैभन्दा धेरै जेएन.१ भेरियन्ट देखा परेको छ। परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट फेला परेको हो। यसपछि बीए.२ मा २६ प्रतिशत र ओमिक्रोनका अन्य उपप्रकारमा २० प्रतिशत संक्रमण देखिएको छ। जेएन.१ भेरियन्ट ओमिक्रोनको बीए.२.८६ स्ट्रेन हो, जुन पहिलोपटक अगस्त २०२३ मा देखिएको थियो।