
दिपक शाही २०८२ जेठ १४ कोहलपुर, बाँके — मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको वागेश्वरी क्याम्पसमा कार्यरत अस्थायी तथा करार शिक्षकहरूले स्थायीत्वको माग गर्दै क्याम्पस प्रमुख दानबहादुर हमाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। क्याम्पस समायोजन भएको सात वर्ष बितिसक्दा पनि स्थायीकरण प्रक्रिया अगाडि नबढेको भन्दै उनीहरूले गुनासो गरेका हुन्।
Advertisement 1
शिक्षकहरूले बताएका छन् कि समायोजनको समयमा तत्कालीन सिनेट बैठकले ६ महिनाभित्र विशेष आन्तरिक परीक्षा लिई अस्थायी तथा करार शिक्षकलाई स्थायी गर्ने निर्णय गरेको थियो। तर सो निर्णय हालसम्म कार्यान्वयनमा नआएको भन्दै उनीहरूले नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “शिक्षक तथा कर्मचारीहरूको मनोबल उच्च राख्न र संस्थालाई उत्कृष्ट बनाउन जागिरको स्थायीत्व अत्यावश्यक हुन्छ। तर नेतृत्वको कमजोरीले अस्थायी शिक्षकहरूको भविष्यमाथि खेलवाड भएको छ।”
Advertisement 2
शिक्षकहरूका अनुसार, समायोजनमा परेका १० वटा क्याम्पसका करार शिक्षकहरूको भेलाले विशेष आन्तरिक परीक्षा मार्फत स्थायीत्व दिनुपर्ने माग अघि सारेको छ। यस विषयमा पटक–पटक क्याम्पस प्रमुख, रजिष्ट्रार तथा उपकुलपतिलाई ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ।
आन्दोलनको पहिलो चरणमा प्रत्येक क्याम्पसका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। शिक्षकहरूले चेतावनी दिएका छन् कि यदि तत्काल प्रक्रिया सुरु नभए थप आन्दोलनात्मक कार्यक्रम घोषणा गरिनेछ। साथै, आन्दोलनबाट उत्पन्न असुविधाको जिम्मेवारी विश्वविद्यालयको नेतृत्वले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।