
चितवन, जेठ १५, २०८२- गणतन्त्र दिवसको अवसरमा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ, चितवन जिल्ला समितिको आयोजनामा आज मधिपुर स्वास्थ्य चौकी, चितवनमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।
नेकपा (बिप्लव) निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको अगुवाइमा गरिएको उक्त शिविर बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो। शिविरमा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य जाँच, दन्त परीक्षण तथा पाठेघरको मुखको परीक्षण जस्ता सेवा प्रदान गरियो।
Advertisement 1
कार्यक्रममा सयौं स्थानीयवासीहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन्। उनीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य सल्लाहसमेत दिइएको थियो।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले जनताको स्वास्थ्य र सचेतनाका लागि आफू सधैं अग्रसर रहने प्रतिबद्धता जनाएको छ।
Advertisement 2
“जनताको सेवा, हाम्रो प्रतिबद्धता!” भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त शिविरप्रति सहभागीहरूले पनि सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
शिविरमा सहभागिता जनाउने सम्पूर्ण नागरिक, स्वास्थ्यकर्मी तथा स्वयंसेवकप्रति महासंघले आभार प्रकट गरेको छ।