
२०८२ कोहलपुर, जेठ २२ – विश्व वातावरण दिवसको अवसरमा बाँकेको कोहलपुर–१० स्थित तक्षशिला एकेडेमीले कोहलपुर–१२ मा अवस्थित रामजानकी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
Advertisement 1
कक्षा ८, ९ र १० मा अध्ययनरत एक सयभन्दा बढी विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा मन्दिर परिसर तथा रामजानकी गुरुकुल स्कुलको क्षेत्र सफा गरिएको थियो। विद्यार्थीहरूले ग्लोभ र मास्कसहित सरसफाईमा सहभागी हुँदै कुहिने र नकुहिने फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरेका थिए।
विद्यालयका अनुसार, शैक्षिक संस्थाबाट ५ किलोमिटर टाढा रहेको पवित्र स्थलमा सरसफाई अभियान सञ्चालन गर्नुको उद्देश्य विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना विकास गर्नु हो।
Advertisement 2
रामजानकी मन्दिरका मुख्य पुजारीले एकान्त र शान्त वातावरणमा रहेको मन्दिर परिसरमा सरसफाई गर्नु पवित्र कार्य हुनुका साथै चेतनामूलक अभ्यास पनि भएको बताए। उनका अनुसार, सरसफाईसँगै विद्यार्थीहरूले वातावरण संरक्षणप्रति जिम्मेवारी महसुस गर्न थालेका छन्।
कार्यक्रमका क्रममा गुरुकुलका बटुकहरूले तक्षशिलाका विद्यार्थीहरूलाई स्वस्थी वाचन तथा शान्तिपाठसहित स्वागत गरेका थिए। संस्कृत शिक्षामा संलग्न बटुकहरूलाई देखेर तक्षशिलाका विद्यार्थीहरूले सांस्कृतिक शिक्षाका पक्षमा रुचि र जिज्ञासा व्यक्त गरेका थिए।
Advertisement 3
विद्यालयका अध्यक्ष विष्णुप्रसाद वेल्वासेले सरसफाई कार्यक्रममार्फत समुदायमा वातावरणीय सन्देश प्रवाह गर्न सकिने बताउँदै भने, “विद्यार्थीहरूबाट थालिएको सिकाइ घर–आँगन सफा राख्नेदेखि समाजमै सकारात्मक असर पार्न सक्षम हुन्छ।”