
२०८२ जेठ २४ कोहलपुर, बाँके: कोहलपुर नगरपालिकाका सबै वडामा विदेश जान चाहने सेवाग्राहीहरूले सरकारी कागजात अंग्रेजी भाषामा बनाउन अनौठो र झन्झटिलो प्रक्रिया भोगिरहेका छन्। कागजात बनाउने काम कार्यालयमै नहुने, बरु सेवाग्राहीलाई निजी प्रेसमा जान सुझाव दिने प्रवृत्ति व्यापक देखिएको छ।
Advertisement 1
सेवाग्राहीहरूले जब वडामा गएर कागजात अंग्रेजीमा चाहिन्छ भन्छन्, त्यहाँका कर्मचारीहरू “तलको प्रेसमा जानु” भन्ने गर्छन्। ती निजी प्रेसहरूले सरकारी लेटरहेड प्रयोग गरेर कागजात तयार गर्छन् र त्यसबापत प्रति कागजात ३ सय रुपैयाँसम्म शुल्क लिन्छन्।
यत्तिले मात्र प्रक्रिया सकिँदैन। प्रेसबाट तयार भएको कागजात फेरि वडामा ल्याएर कर्मचारीको हस्ताक्षर र छाप गराउनु पर्छ। यसरी एउटै कागजातका लागि सेवाग्राहीलाई दुबै ठाउँमा धाउनु, अतिरिक्त खर्च बेहोनु र समय बर्बाद गर्नुपर्ने बाध्यता बनिरहेको छ।
Advertisement 2
सरकारी कार्यालयमा अंग्रेजी भाषामा दक्ष जनशक्ति नहुनु वा अनुवाद गर्ने क्षमता नहुनु यस्तो प्रवृत्तिको कारण हुनसक्छ। तर धेरै नागरिक यो अभ्यासलाई वडाका कर्मचारी र निजी प्रेसबीचको अनौपचारिक मिलेमतोका रूपमा पनि हेर्न थालेका छन्।
संवेदनशील सरकारी लेटरहेड निजी प्रेसमा प्रयोग हुनु, सेवा शुल्कको निश्चित मापदण्ड नहुनु, र कानुनी प्रक्रिया नअपनाइनुले यसले सेवा पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायहरूले यसमा चासो देखाई पारदर्शी र सेवा केन्द्रित प्रणाली विकास गर्नु अत्यावश्यक देखिएको छ।