
दिपक शाही २०८२ जेठ २६, बाँके, कोहलपुर — सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जको आर्थिक सहयोगमा सिटी युथ क्लब, कोहलपुर बाँकेले १४ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी १० दिने विशेष फुटबल प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम भोलिदेखि सञ्चालनमा आउने क्लबले जानकारी दिएको छ।
Advertisement 1
क्लबका अध्यक्ष युब राज शाहीका अनुसार, प्रशिक्षण कार्यक्रमको अन्त्यमा नक-आउट शैलीमा प्रतियोगिता आयोजना गरिने छ, जसमा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई नगद पुरस्कारसहित मेडल प्रदान गरिनेछ। पहिलो स्थान प्राप्त गर्ने समूहलाई पचास हजार रुपैयाँ नगद र मेडल प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः तीस हजार र पन्ध्र हजार रुपैयाँ नगद पुरस्कारका साथै मेडल प्राप्त गर्नेछन्। यसका अतिरिक्त, विभिन्न खेल विधामा उत्कृष्टता देखाउने बालबालिकालाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ।
फुटबल प्रशिक्षण कार्यक्रममा कुल १५० जना बालबालिकाको सहभागिता रहनेछ। प्रशिक्षणको लागि कोहलपुर नगर क्षेत्रभित्र तीनवटा छुट्टाछुट्टै केन्द्रहरू स्थापना गरिएका छन्, जहाँ अनुभवी ६ जना प्रशिक्षकहरूले बालबालिकालाई व्यावसायिक ढंगले प्रशिक्षण दिनेछन्।
Advertisement 2
क्लबले सहभागी सबै बालबालिकालाई आवश्यक सम्पूर्ण खेल सामग्रीहरू निःशुल्क वितरण गर्ने व्यवस्था समेत मिलाएको छ। यसले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पनि समान अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
क्लबले यस कार्यक्रमले बालबालिकाको शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन र सामाजिक अनुशासनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। साथै, यस किसिमको आयोजनाले स्थानीय स्तरमै बालबालिकामा खेलप्रतिको रुचि र आत्मविश्वास अभिवृद्धि हुने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिभा उत्पादनमा टेवा पुग्ने विश्वास समेत गरिएको छ।