
२०८२ साउन ५, कोहलपुर (बाँके)- इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको आयोजनामा आज मासिक समिक्षा बैठक सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालको अध्यक्षतामा बसेको उक्त बैठकमा मातहतका सम्पूर्ण प्रहरी इकाइ प्रमुखहरूको सहभागिता रहेको थियो।
Advertisement 1
बैठकमा हालसम्म सम्पादन भएका कार्यहरूको समिक्षा गर्दै प्रहरी प्रशासनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। चोरी, डकैती तथा अन्य आपराधिक गतिविधिहरू नियन्त्रण, शान्ति सुरक्षा सुदृढीकरण, अवैध सामानको ओसारपसारमा रोकथाम तथा नियन्त्रण र फरार प्रतिवादीहरूको खोजतलासलाई प्राथमिकतामा राखी कार्य गर्नुपर्नेमा प्रहरी नायब उपरीक्षक खनालले निर्देशन दिनुभएको थियो।
त्यस्तै, विभागीय नीति-निर्देशनको अक्षरसः पालना गर्न, प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार अनुशासित र मर्यादित बनाउनुपर्ने कुरामा पनि जोड दिइएको छ। बैठकमा सहभागी प्रमुखहरूलाई आ–आफ्नो क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराउँदै आपसी समन्वय र सक्रियताका साथ अगाडि बढ्न आग्रह गरिएको थियो।
Advertisement 2
इलाका प्रहरी कार्यालय कोहलपुरले मासिकरूपमा यस्ता समिक्षात्मक बैठक सञ्चालन गर्दै आएको छ, जसबाट सेवा प्रवाहमा सुधार ल्याउनुका साथै प्रहरी कार्यशैलीलाई अझ पारदर्शी र जनमुखी बनाउने प्रयास भइरहेको छ।