जनगणतन्त्र चीनले एक–चीन सिद्धान्त अन्तर्राष्ट्रिय समुदायको साझा सहमति, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता तथा चीन–अफ्रिका सम्बन्धको राजनीतिक आधार भएको स्पष्ट पारेको छ।
आज राजधानी बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले ताइवान प्रशासनले चीन–अफ्रिकी संघ (एयू) रणनीतिक संवादको संयुक्त विज्ञप्तिमा समावेश ताइवानसम्बन्धी विषयलाई लिएर गरेको आपत्तिप्रति प्रतिक्रिया जनाएकी हुन्। उनले एक–चीन सिद्धान्तप्रति चीन र अफ्रिकी देशहरूको साझा र स्पष्ट अडान पुनः दोहोर्याएकी छन्।
प्रवक्ता माओ निङका अनुसार सन् २०२४ मा बेइजिङमा सम्पन्न चीन–अफ्रिका सहकार्य मञ्च (एफओसीएसी) शिखर सम्मेलनले पारित गरेको बेइजिङ घोषणापत्रमा सहभागी अफ्रिकी देशहरू र एयू आयोगले विश्वमा एउटा मात्रै चीन रहेको, ताइवान चीनको अभिन्न हिस्सा भएको र जनगणतन्त्र चीनको सरकार नै सम्पूर्ण चीनको एकमात्र वैध सरकार भएको पुनः पुष्टि गरेका थिए।
उनले नवौँ चीन–एयू रणनीतिक संवादको संयुक्त प्रेस विज्ञप्तिले ताइवान प्रश्नमा अफ्रिकी पक्षको स्थायी र स्पष्ट अडान प्रतिबिम्बित गरेको बताइन्। साथै, ताइवान क्षेत्रीय प्रशासनलाई ‘यथार्थ स्वीकार गर्न र आत्म–अपमानजनक राजनीतिक गतिविधि रोक्न’ आग्रह गरेकी छन्।
यसैबीच, आर्कटिक क्षेत्र र ग्रीनल्याण्डबारे पनि चीनले आफ्नो अडान स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसको सम्भावित प्रभाव रोक्न ग्रीनल्याण्डमाथि नियन्त्रण आवश्यक भएको अभिव्यक्ति दिएपछि प्रतिक्रिया दिँदै माओ निङले आर्कटिक क्षेत्र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको साझा सरोकार भएको बताइन्।
उनका अनुसार चीनका आर्कटिकसम्बन्धी गतिविधि क्षेत्रीय शान्ति, स्थिरता र दिगो विकास प्रवर्द्धनमा केन्द्रित छन् र ती पूर्ण रूपमा अन्तर्राष्ट्रिय कानुनअनुसार सञ्चालन भइरहेका छन्। उनले आर्कटिक क्षेत्रमा प्रचलित अन्तर्राष्ट्रिय कानुनअनुसार गतिविधि सञ्चालन गर्ने सबै देशको अधिकार र स्वतन्त्रताको सम्मान हुनुपर्ने चीनको अडान दोहोर्याउँदै ‘अन्य देशलाई बहाना बनाएर आफ्नो स्वार्थ पूरा नगर्न’ चेतावनी समेत दिएकी छन्।
स्राेत : सिसिटिभी प्लस ।







