काठमाडौं ।काठमाडौंका विभिन्न स्थानमा दिउँसो घर खाली भएको मौका छोपी नगद तथा सुन–चाँदीका गरगहना चोरी गर्दै आएको गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले खोजतलासका क्रममा हिजो मध्यरात करिब साढे ११ बजे नागार्जुन नगरपालिका–६, पुरी गाउँमा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने व्यक्ति बाँकेको नेपालगन्ज उपमहानगरपालिका–३ स्थायी घर भई हाल काठमाडौंको सितापाइला बस्दै आएका ४१ वर्षीय सुप्रिम विकास उर्फ सौरभ चौधरी भन्ने प्रेम थारु रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका थारु यसअघि पनि २०७९ मंसिर २९ गते बौद्ध प्रहरी वृत्तबाट दुई वटा चोरी मुद्दामा पक्राउ परेर तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन्।
हालसम्म उनका चोरीका घटनासँग सम्बन्धित ९ जना पीडित प्रहरीको सम्पर्कमा आइसकेका छन्। चोरीको बिगो सुन, चाँदी, हिरा तथा विभिन्न विदेशी मुद्रासहित करिब ३ करोड ६ लाख रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका व्यक्तिबाट हालसम्म ७६४.३५ ग्राम सुन, ११५९.२६ ग्राम चाँदी, नेपाली रुपैयाँ १ लाख ६३ हजारभन्दा बढी तथा अमेरिकी डलर, भारतीय रुपैयाँ, चिनियाँ युआन, साउदी रियाललगायत विभिन्न विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।







