काठमाडौं । सप्तरीमा आफ्नै सहकर्मी प्रहरीको गोली लागेर नेपाल प्रहरीका एक जवान गम्भीर घाइते भएका छन्। घटनामा संलग्न प्रहरी जवानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर (धनुषा) दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव रहेका छन्। उनको कम्मरमाथिको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।
घटना सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागारको सुरक्षामा खटिएका प्रहरीबीच बुधबार राति करिब ११:२० बजे भएको हो। कारागार प्रमुख रूपक मण्डलका अनुसार घाइते यादवलाई तत्काल उद्धार गरी गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्पमा रेफर गरिएको छ।
प्रहरीका अनुसार राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका प्रहरी जवान बिसोजित यादव शौचालयबाट आफ्नो पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका २२ वर्षीय प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो। उक्त गोली यादवको कम्मरमाथिको ढाडमा लाग्दा उनी गम्भीर घाइते भएका हुन्।
घटनापछि गोली चलेको एसएलआर राइफलसहित प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिइएको छ। उनलाई हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।







