कालिकोट। कालिकोटको शुभकालिका गाउँपालिका–३, भर्तास्थित श्री जनज्योति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) र विद्यालय प्रशासनबिच गम्भीर मतभेद सतहमा आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप अधिकारीले प्रधानाध्यापक, शिक्षक तथा समितिका अन्य सदस्यहरूलाई कुनै जानकारी नै नदिई एकपक्षीय रूपमा विज्ञप्ति जारी गरेपछि विवाद चुलिएको हो।
अध्यक्ष अधिकारीले विद्यालयको आधिकारिक लेटरहेड प्रयोग गरी जारी गरेको ध्यानाकर्षण पत्रमा घटना घटेको मितिसमेत गलत उल्लेख गरिएको पाइएको छ। गत साउन ८ गते भएको घटनालाई विज्ञप्तिमा असार ८ गते भनी लेखिएको छ। विद्यालयका प्रधानाध्यापक (प्रअ), शिक्षक एवं व्यवस्थापन समितिका अन्य सदस्यहरूसँग कुनै छलफल र सहमति नगरी विज्ञप्ति निकालिएकाले विद्यालयको संस्थागत साखमाथि नै प्रश्नचिह्न खडा भएको छ।विद्यालय जस्तो सार्वजनिक र संवेदनशील संस्थाको तर्फबाट कुनै पनि आधिकारिक धारणा वा विज्ञप्ति सार्वजनिक गर्दा प्रधानाध्यापक, शिक्षक प्रतिनिधि तथा व्यवस्थापन समितिका सदस्यहरूसँग छलफल र सहमति हुनुपर्ने कानुनी तथा प्रशासनिक मान्यता छ।वि.व्य.स. अध्यक्ष र विद्यालय प्रशासन/शिक्षकहरूबिच समन्वय नहुँदा त्यसको प्रत्यक्ष असर विद्यालयको शैक्षिक वातावरणमा पर्ने खतरा बढेको छ। स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरूले विद्यालयलाई राजनीतिक वा व्यक्तिगत खिचातानीको अखडा नबनाउन आग्रह गरेका छन्।
प्रक्रिया नपुर्याई र तथ्य नै बंग्याएर जारी गरिएको विज्ञप्तिले समस्या समाधान गर्नुको सट्टा थप भ्रम र अविश्वास सिर्जना गरेको स्थानीयहरूको भनाइ छ।यस घटनापछि अभिभावक र स्थानीय शिक्षाप्रेमीहरूले सम्बन्धित गाउँपालिकाको शिक्षा शाखा र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्।








