काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक अभियुक्तलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ जिल्लाको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ निवासी अम्मर सिंह नेपाली रहेका छन्। उनी कर्तव्य ज्यान मुद्दामा वारदातपछि फरार रहँदै आएका थिए।


नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले २०२४ जुन ६ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसयता उनी अन्तर्राष्ट्रिय स्तरमा खोजीको सूचीमा रहेका थिए।
प्रहरीका अनुसार रेड नोटिस जारी भएपछि उनी साउदी अरेबियाबाट Air Arabia को उडान नम्बर G9 530 मार्फत नेपाल फर्किने सूचना प्राप्त भएको थियो। त्यसपछि आवश्यक समन्वय गरी २०८३ साउन २० गते राति १०ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेबित्तिकै उनलाई पक्राउ गरिएको हो।
नेपाल प्रहरीले पक्राउ परेका अम्मर सिंह नेपालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी गरेको जनाएको छ।





