२७ साउन २०८३ कोहलपुर । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा एच एण्ड एह हस्पिटल, कोहलपुरको आर्थिक सहयोग तथा सचेत युवा कोहलपुरको आयोजनामा वाकथन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। युवामा एकता, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र सिर्जनशील नेतृत्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नाराका रूपमा रहेको ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने सन्देशलाई आत्मसात गर्दै आयोजित वाकथनमा विभिन्न विद्यालयका युवा तथा विद्यार्थी, सामाजिक अभियन्ता, युवा प्रतिनिधि तथा नागरिक समाजका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी युवाहरूले वाकथनमार्फत युवाको सक्रिय सहभागिता, सामाजिक सद्भाव, शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर र समृद्ध समाज निर्माणमा युवाको भूमिकालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका थिए। फरक–फरक पृष्ठभूमि, सोच र अनुभव भए पनि साझा लक्ष्य र आकांक्षाका लागि युवा एकजुट हुनुपर्नेमा कार्यक्रमले जोड दिएको थियो।
कार्यक्रमको सभाध्यक्षता शंकर न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा किशोर शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको विस्तृत प्रतिवेदन दिनेश उपाध्यायले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम लोकेन्द्र जंग सुनारले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले युवा केवल भविष्यका कर्णधार मात्र नभई वर्तमान परिवर्तनका महत्वपूर्ण साझेदार भएको धारणा व्यक्त गरेका थिए। युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनीहरूको भनाइ थियो।
वाकथनले युवाबीच आपसी सहकार्य, सामाजिक जिम्मेवारी र सामूहिक भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक सचेत युवा कोहलपुरले जनाएको छ। युवाहरूलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक अभियान, शिक्षा, स्वास्थ्य, वातावरण, उद्यमशीलता तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय सहभागी गराउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकको भनाइ छ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमले ‘भिन्न परिवेश भए पनि साझा सपना र आकांक्षाका लागि युवा एक ठाउँमा उभिन सक्छन्’ भन्ने सकारात्मक सन्देश दिएको छ। कोहलपुरमा भएको यो वाकथन युवाको उत्साह, सहभागिता र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने एउटा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।








