काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको तथा उनको निवास र सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गरी सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरी उनको निजी निवासमा खानतलासी गरिएको तथा बिहीबार बिहानै सम्बन्धित सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति ध्यानाकर्षण जनाएको हो।


प्रेस काउन्सिलले पत्रकार आचारसंहिता निर्माण गरी पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध परेका उजुरीमाथि छानबिन गर्ने, नियमानुसार कारबाही गर्ने र आवश्यक अवस्थामा उजुरीकर्ता तथा पत्रकार दुवै पक्षलाई बोलाएर संवाद तथा मेलमिलाप गराउने कार्य गर्दै आएको जनाएको छ।
काउन्सिलले सञ्चारमाध्यम र पत्रकारको स्वःअनुगमनलाई समेत प्राथमिकता दिँदै आएको उल्लेख गरेको छ।
‘नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ।
साथै, काउन्सिलले पत्रकार तथा सञ्चारकर्मीले सञ्चारकर्मका क्रममा प्रस्तुत गर्ने कार्यशैली, व्यवहार, पेसागत मर्यादा र आचरणप्रति पनि आफू उत्तिकै सचेत रहेको जनाएको छ।
प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुन सक्ने स्वेच्छाचारिताप्रति पनि पत्रकार तथा सञ्चारकर्मी सचेत हुनुपर्ने काउन्सिलको भनाइ छ।
काउन्सिलले प्रेस स्वतन्त्रता र पत्रकारिताको पेसागत मर्यादा दुवैलाई सन्तुलित रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।





