सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानमा शाहीको पक्षमा २१ मत परेको छ भने विपक्षमा १३ मत परेको छ । दुई सांसद तटस्थ बसेका छन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि बुधबार प्रदेशसभामा छलफलपछि मतदान भएको हो । नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका छन् भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले विपक्षमा मतदान गरेका हुन् ।


४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेपाली कम्युनिस्ट पार्टीका १४, नेकपा एमालेका सभामुखसहित १० र राप्रपाका एक सांसद छन् । मतदानमा भने ३६ जना सांसद सहभागी भएका थिए ।
एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले २३ दिनपछि प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । उनले विश्वासको मतका लागि सोमबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
विश्वासको मत पाएसँगै शाही नेतृत्वको सरकारलाई नियमित रूपमा अघि बढाउने बाटो खुलेको छ । तर, सरकारले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री शाहीले हालसम्म मन्त्रिपरिषद्मा एक जना पनि मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटलगायतका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । यसअघि पनि सरकार गठनसँगै मन्त्रालय भागबण्डाको विषय टुंगिन नसकेको समाचार सार्वजनिक भएका थिए ।





