विराटनगर । मोरङको विराटनगरमा सार्वजनिक स्थलमा स्कुले छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–९ स्थित महेन्द्रचोकको सडकमा विद्यालय पोशाकमा हिँडिरहेका दुई युवतीलाई मोटरसाइकलमा सवार दुई पुरुषले अभद्र व्यवहार गरेको आरोप छ।


उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई विराटनगरबाटै पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का ३५ वर्षीय महेश कुमार मण्डल र बारा परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगरमा बस्दै आएका ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छन्।
प्रहरीका अनुसार उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।





