कोहलपुर । स्वच्छ, स्वस्थ र सुन्दर कोहलपुर निर्माण गर्ने उद्देश्यसहित स्वतन्त्र युवा समूह, स्वतन्त्र युवा अर्जुन बडुवाल तथा कोहलपुर नगर प्रहरीको संयुक्त पहलमा सरसफाइ तथा सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कोहलपुर–१०, विद्या नगरमा आयोजित कार्यक्रममा युवाहरू, नगर प्रहरी तथा स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा मेन रोडदेखि बागेश्वरी एकेडेमी चोकसम्म सडक तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै संकलित फोहोरको उचित व्यवस्थापन गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले केवल सडक सफा गर्ने काम मात्र गरेनन्, स्वच्छ वातावरण, फोहोरको सही व्यवस्थापन र प्लास्टिकको प्रयोग न्यूनीकरण सम्बन्धी जनचेतनासमेत फैलाएका थिए। युवाहरूको उत्साहपूर्ण सहभागिताले सरसफाइ अभियानलाई अझ प्रभावकारी र उदाहरणीय बनाएको देखिन्थ्यो।
“फोहोर होइन, सम्पत्ति हो—सही व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी” भन्ने सन्देशसहित अघि बढाइएको अभियानले प्रत्येक नागरिकले आफ्नो घर, टोल र सार्वजनिक स्थान सफा राख्नुपर्ने जिम्मेवारीलाई उजागर गरेको छ।
कार्यक्रमका क्रममा स्वतन्त्र युवा समूह र स्वतन्त्र युवा अर्जुन बडुवालको सक्रिय पहल तथा कोहलपुर नगर प्रहरीको सहकार्य स्थानीयस्तरमा सरसफाइ र सामाजिक सचेतनाका लागि सकारात्मक उदाहरणका रूपमा देखिएको छ।
सरसफाइ कार्यक्रममार्फत “सफा गरौँ, सुन्दर कोहलपुर बनाऔँ” भन्ने अभियानलाई थप मजबुत बनाउँदै कोहलपुरलाई स्वच्छ, व्यवस्थित र आकर्षक शहर बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
युवाको जोश, नगर प्रहरीको साथ र नागरिकको सहभागिता—स्वच्छ कोहलपुर निर्माणको बलियो आधार।











