काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रस्थित एक रिसोर्टमा पुगेको प्रहरी टोलीलाई लिएर विभिन्न अनलाइन माध्यममा प्रकाशित समाचारपछि घटनाको वास्तविकता बारे बहस सुरु भएको छ। केही सञ्चारमाध्यमले प्रहरी अधिकारीलाई विवादमा तान्ने शैलीमा समाचार प्रकाशित गरेपछि प्रहरी वृत्तमा समेत त्यसप्रति असन्तुष्टि देखिएको छ।
गत ५ जेठमा एक चर्चित अनलाइन माध्यमले प्रहरी अधिकारी सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो। समाचारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली रिसोर्ट पुगेको र कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले त्यसलाई स्वीकार गरेको उल्लेख गरिएको थियो।
तर, सोही समाचारभित्र रिसोर्टका कर्मचारीको भनाइ उद्धृत गर्दै टोली “सिआईबीबाट आएको” उल्लेख गरिएपछि समाचारमै विरोधाभास देखिएको भन्दै प्रश्न उठ्न थालेको हो।
चिनियाँ नागरिकको उजुरीपछि पुगेको थियो टोली
प्रहरी स्रोतका अनुसार उक्त टोली कुनै व्यक्तिको निजी गतिविधि निगरानी गर्न नभई चिनियाँ नागरिकले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि त्यहाँ पुगेको थियो।
जानकारी अनुसार फागुनको तेस्रो सातातिर एक चिनियाँ महिला पर्यटक भोटेकोशीस्थित रिसोर्टमा बस्न पुगेकी थिइन्। बसाइका क्रममा उनको नगद, गहना, मोबाइल फोन र ल्यापटप चोरी भएको दाबी गरिएको छ।
ती महिलाले सुरुमा रिसोर्टका कर्मचारीलाई घटनाबारे जानकारी गराएकी थिइन्। तर, कर्मचारीले चासो नदिएको आरोप छ। त्यसपछि उनले रिसोर्ट व्यवस्थापनसँग पनि सहयोग मागेकी थिइन्। व्यवस्थापनबाट समेत सहयोग नपाएपछि उनी काठमाडौं आएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएकी थिइन्।
उजुरी प्राप्त भएपछि कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले प्रारम्भिक जानकारी लिएर अनुसन्धानका लागि टोली परिचालन गरेको प्रहरी स्रोतले जनाएको छ।
क्षेत्राधिकारबारे पनि बहस
घटनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुसन्धान गरेको भन्दै केहीले आलोचना गरेका छन्।
तर, प्रहरी अधिकारीहरू भने यस्तो आलोचना सतही भएको बताउँछन्। उनीहरूका अनुसार काठमाडौं बाहिर घटना भएको भन्दै उजुरी लिन अस्वीकार गर्नु प्रहरीको दायित्व विपरीत हुने तर्क छ।
एक प्रहरी अधिकारीले भने,
“यदि कुनै पीडित काठमाडौं आएर उजुरी दिन्छ भने ‘यो हाम्रो क्षेत्र होइन’ भनेर फर्काउन मिल्दैन। नेपाल प्रहरी एउटै संगठन हो, आवश्यक समन्वय गरेर अनुसन्धान अघि बढाइन्छ।”
सीसीटिभी हार्डडिस्क नै काठमाडौं ल्याइयो
प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि गुण्डागर्दी नियन्त्रण हेर्ने पिलरमा कार्यरत इन्स्पेक्टर गणेश जैसी नेतृत्वको टोली रिसोर्ट पुगेको थियो।
टोलीले घटनाबारे जानकारी माग्दा रिसोर्ट सञ्चालक तथा व्यवस्थापन पक्षले अपेक्षित सहयोग नगरेको बताइएको छ। रिसोर्ट पक्षले सीसीटिभी फुटेज ३० दिनसम्म मात्रै सुरक्षित रहने भन्दै पुराना दृश्य उपलब्ध नभएको जवाफ दिएको प्रहरी स्रोतको भनाइ छ।
त्यसपछि टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेपछि थप अनुसन्धानका लागि सीसीटिभी हार्डडिस्क नै काठमाडौं ल्याइएको बताइएको छ।
‘अनावश्यक प्रचार भयो’ : एसएसपी खड्का
एसएसपी सन्तोष खड्काले घटनालाई अनावश्यक रूपमा अन्य व्यक्तिसँग जोडेर प्रचार गरिएको बताएका छन्।
उनले भने,
“हामीले चिनियाँ नागरिकको जाहेरीका आधारमा अनुसन्धान गरेका हौं। अन्य व्यक्तिसँग जोडेर प्रचार गर्नु हास्यास्पद कुरा हो।”
प्रहरी वृत्तमा समेत अनुसन्धानका क्रममा गएको टोलीलाई लिएर अनावश्यक विवाद सिर्जना गर्न खोजिएको टिप्पणी भइरहेको छ। उजुरीका आधारमा अनुसन्धान गर्नु प्रहरीको नियमित प्रक्रिया भए पनि त्यसलाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको भन्दै प्रहरी अधिकारीहरूले असन्तुष्टि जनाएका छन्।







