जाजरकोट । विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) समूहसँग आबद्ध रहेको आरोप लागेका ‘महान’ भन्ने खिमबहादुर खत्रीलाई शुक्रबार दिउँसो भेरी नगरपालिका–३ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०७६ असार ९ गते राति बारेकोट गाउँपालिका–२ लिम्सास्थित बारेकोट गाउँपालिकाको कार्यालय भवनमा गाउँपालिका अध्यक्षको कार्यकक्ष अगाडि जि.आइ. पाइप बम तथा रातो कपडाले बेरेर राखिएको बट्टा बम फेला परेको घटनामा खत्रीको संलग्नता रहेको आरोप छ।
त्यसैगरी, २०७६ मंसिर ७ गते राति नलगाड नगरपालिका–५ रघुनाथस्थित कालिमाटीदेखि खान्टाकुरा जाने बाटोको ठाँटीगैरा सालघारी नजिक विष्फोटक पदार्थ (बम) विष्फोट गराइएको घटनामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ।
यी दुवै घटनासम्बन्धी छुट्टाछुट्टै विष्फोटक पदार्थ मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको भए पनि खत्री लामो समयदेखि फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले विशेष खोजतलासका क्रममा उनलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार पक्राउ परेका खत्रीलाई शुक्रबार नै आवश्यक कानुनी कारबाहीका लागि जाजरकोट जिल्ला अदालतमा उपस्थित गराइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।







