०१ असार २०८३ दाङ ;-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको महामन्त्री पदमा कोहलपुरका वरिष्ठ नेता सी एम उपाध्याय निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र, एकता र सहमतिको सकारात्मक सन्देश दिने गरी यो निर्वाचन प्रक्रिया सम्पन्न भएको हो।
प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरूबीच भएको छलफल तथा सहमतिपछि कुनै पनि प्रतिस्पर्धी उम्मेदवार नदेखिएपछि उहाँलाई सर्वसम्मत रूपमा महामन्त्री चयन गरिएको हो। उपाध्यायको नेतृत्वमा पार्टी संगठनलाई थप व्यवस्थित, अनुशासित र जनमुखी बनाउनुपर्ने धारणा सबैको साझा रहेको बताइएको छ।


निर्वाचनपछि बोल्दै सी एम उपाध्यायले आफूमाथि व्यक्त गरिएको विश्वासलाई आत्मसाथ गर्दै लुम्बिनी प्रदेशमा पार्टीको उपस्थितिलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हाम्रो पार्टी व्यवस्थापिका र संगठन दुवै तहमा नयाँ प्रणाली र सोच लिएर अघि बढेको छ। निर्विरोध निर्वाचन यसको एउटा उदाहरण मात्र हो। अब जनताको पक्षमा काम गरेरै सकारात्मक परिणाम दिन्छौं,” उहाँले भन्नुभयो।
रास्वपा लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरूले उपाध्यायको नेतृत्वमा पार्टीले संगठन विस्तार, युवा उद्यमशीलता, पारदर्शिता र सुशासनका एजेन्डालाई प्राथमिकतामा राख्दै जनतासँग प्रभावकारी सम्बन्ध बनाउने विश्वास व्यक्त गरेका छन्।
यो सहमतिपूर्ण निर्वाचनले रास्वपाभित्रको आन्तरिक लोकतन्त्र र सिद्धान्तप्रतिको प्रतिबद्धतालाई देखाएको छ, जुन अन्य दलहरूका लागि समेत सकारात्मक सन्देश हो।





