रुपन्देही । नेपालमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट सात जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१२ स्थित एक स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न क्रिप्टोकरेन्सी एप तथा वेबसाइटमार्फत अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले विनान्स, ओकेएक्स, इन्टोकन, पेटीएम, भीम, मोबिकविक तथा फोनपे लगायतका डिजिटल प्लेटफर्म प्रयोग गरेको प्रहरीको दाबी छ।
पक्राउ पर्नेमा ४९ वर्षीय सीओङ गुफु, ४३ वर्षीय हु गङ, ४५ वर्षीय ली छुयनी, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ क्विचिन, ३१ वर्षीय छियाङ जियासुन तथा ४५ वर्षीय ली बिन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरिएको छ।
पक्राउ परेका चिनियाँ नागरिकमाथि नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







