काठमाडौं । भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ४ किलो ४२० ग्राम अफिम (चोप) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट उनीहरूलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–४ का ५४ वर्षीय राजकुमार लामा र हेटौंडा उपमहानगरपालिका–१५ का ४० वर्षीय राजकुमार तितुङ रहेका छन्। उनीहरूको साथबाट ४ किलो ४२० ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद अफिम भारततर्फ अवैध रूपमा निकासी गर्ने तयारी भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ।





