नुवाकोट — नुवाकोटको तारकेश्वर गाउँपालिका–५, कल्लेरीडाँडास्थित शंखादेवी माविकी लेखापाल अनिता तामाङले पाँच महिनाअघि राजीनामा दिई वैदेशिक रोजगारीमा गएकी छिन्। तर, उनी देशबाहिर रहँदै आएको अवस्थामा समेत विद्यालयको आर्थिक कारोबारमा उनको हस्ताक्षर प्रयोग भइरहेपछि सरोकारवाला पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।


अनिता तामाङले फागुन १ गते औपचारिक रूपमा लेखापाल पदबाट राजीनामा दिएकी थिइन्। तर हालसम्म विद्यालयको हिमालयन बैंक गोर्स्याङ शाखामा सञ्चालित खाताबाट चेकहरू काटिँदा तामाङको समेत हस्ताक्षर देखिएपछि विवाद उत्पन्न भएको हो। ती चेकमा प्रधानाध्यापक राजाराम अधिकारीको पनि हस्ताक्षर रहेको उजुरीमा उल्लेख छ।
विद्यालयमा अन्य योग्य र सिनियर शिक्षकहरू हुँदाहुँदै पनि गाउँपालिका अध्यक्ष शिव अधिकारीको दबाबमा राजाराम अधिकारीलाई प्रधानाध्यापक बनाइएको आरोप पनि लगाइएको छ। एक शिक्षकका अनुसार, प्रदेश सरकारबाट प्राप्त ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत विनियोजित ५ लाख रुपैयाँ बजेटमध्ये १ लाख रुपैयाँमा मात्र सानो टनेल बनाइएको छ भने बाँकी रकमको कुनै विवरण विद्यालय सञ्चालक समितिलाई दिइएको छैन।
त्यसैगरी, अर्को पालिकाबाट विद्यालयको पर्खाल निर्माणका लागि छुट्याइएको ४ लाख ५० हजार रुपैयाँको खर्च विवरणसमेत प्रधानाध्यापक अधिकारीले नदिएको उजुरीमा उल्लेख छ। यस विषयमा प्रष्ट जानकारी नदिइएको भन्दै सरोकारवालाहरू अख्तियार पुगेका हुन्।





