काठमाडौं — रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले अध्यक्ष यादवसहित गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेयलाई रंगेहात समातेको हो।


अध्यक्ष यादवले आफैंको वडामा सञ्चालन भएका तीन वटा योजना — ‘सिसु सेमरा दक्षिण धोबहिया छठ घाट निर्माण’, ‘पुर्निकोट गाउँभित्र सडक पीसीसी ढलान’ र ‘सुरहवाँ गाउँभित्र सडक पीसीसी ढलान’ — का निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने नाममा सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेका थिए।
सो घुस रकम उनले सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डे मार्फत लिइरहेका बेला आयोगको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार अनुसन्धानका क्रममा यादवले प्रत्यक्ष घुस मागेर व्यापारीका छोरालाई लिन पठाएको पुष्टि भएको छ। सोही आधारमा अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार मुद्दा दायर गरिएको छ। सोही ऐनअनुसार उनलाई कैद र बिगो बराबरको जरिवानाको माग गरिएको छ।
यस्तै, व्यापारीका छोरा विपिन कुमार पाण्डेयले अध्यक्ष यादवको मिलेमतोमा सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि उनलाई पनि मूल अपराधमा सहकार्य तथा सहयोग गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। ऐनको दफा २२ अनुसार उनलाई मुख्य कसुरदार सरहको सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।





